काठमाडौं- आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर पठाइएका व्यक्तिको मृत्यु भएको छ। मृत्युपछि पिसीआर परीक्षण गर्दा पोजेटिभ आएको छ। नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुने उनी ११औं व्यक्ति हुन्।
पञ्चपुरी नगरपालिका- ९ विद्यापुर, सुर्खेतस्थित जनता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा जेठ ८ गतेदेखि बस्दै आएका सोही नगरपालिका वडा नम्बर १ का २० वर्षीय पुरुषको जेठ २१ गते आरडिटी जाँच गर्दा नेगेटिभ आएको थियो। त्यसपछि उनलाई होम क्वारेन्टाइनमा पठाइएको र उनमा कोभिड १९ सँग सम्बन्धित लक्षणहरु पनि नभएको कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीद्वारा जारी सूचनामा भनिएको छ।
‘जेठ २२ गते बिहान करिब २:१५ बजे उहाँको मृत्यु भएको साथै मृत्यु पश्चात सोही दिन निजको कोभिड १९ को स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग तथा अन्वेषण प्रयोगशाला, सुर्खेतमा पठाइएको र नतिजा पोजेटिभ व्यहोरा अनुरोध गर्दछु’, सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।