काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष बद्री केसीले लामो समयको प्रतिक्षा र कुराइपछि बल्ल विदेशमा अड्किएका नेपालीहरूको उद्धार शुक्रबारदेखि सुरु भएको बताए।
पहिलो उडानमा म्यानमार सरकारको खर्चले सैनिक जहाजबाट २६ जना नेपालीहरू स्वदेश फर्कने उनले बताए।
उक्त जहाजले नेपालबाट म्यानमारको नागरिकलाई फिर्ता लैजानेछ| नेपाली दुतावासमा फसेका नेपालीलाई स्वदेश फिर्ताको लागि सक्रिय समन्वय गरेकोमा म्यानमारका लागि नेपाली राजदूत भीम उदासलाई उनले विशेष धन्यवाद व्यक्त गरे।
उनले भने, 'आप्रवासी नेपाली कामदारहरूको सबैभन्दा धेरै जनघनत्व भएका मध्यपूर्वका देशहरू तथा मलेसियाबाट शुक्रबारदेखि नै स्वदेश फिर्ताको कार्यक्रम सुरु हुनेछ।'
संयुक्त अरब इमिरेट्सका यर अरबिया तथा फ्लाई दुबई कम्पनीले धेरै उडानहरू निःशुल्क गर्ने प्रस्ताव गरेको उनले बताए।
'कुवेत सरकारकै खर्चमा कुवेतमा ३ हजारभन्दा बढी आम माफी पाएका विशेषगरी घरेलु कामदार महिलाहरू नेपाल फर्कनलाई कुरिरहेका छन्। आउदो मे ८ बाट उनीहरूको उद्धार सुरु हुने तयारी छ' उपाध्यक्ष केसीले थपे।
आफन्तलाई भेट्न गएका, भिजिट भिसामा रहेका, विद्यार्थीहरूलगायत थुप्रै अड्किएका नेपालीहरू अस्ट्रेलिया, युरोप, अफ्रिका तथा अमेरिकाबाट नेपाल फर्कने पालो कुरिरहेका छन्।
एनआरएनएले स्वदेश फिर्ती प्रक्रियाका लागि नेपाल सरकार तथा नेपाली दूतावासहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ।
सुरक्षित र नियन्त्रित स्वदेश फिर्ताको लागि पैरवी गरिरहेको एनआरएनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।