काठमाडौं- अर्को जिल्लाबाट ल्याइएका तरकारी कोरोना भाइरस (कोभिड १९)को बहानामा पुरेको पाइएमा कडा कारबाही गर्न गृहमन्त्रालये निर्देशन दिएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तरकारी, फलफूल, खाद्यान्नलगायतका अत्यावश्यक वस्तु पुरेको वा नष्ट गरेको पाइएमा कारबाही गर्न निर्देशन दिएको हो।
‘केही दिनअघिदेखि देशका विभिन्न स्थानमा स्थानीय प्रशासन समेतबाट अतिआवश्यक वस्तुको रुपमा रहेको तरकारी तथा फलफूलजन्य वस्तुहरु ढुवानी गरेका सवारी साधनहरुको आवागमनमा बाधा पुर्याउने तथा एक वा अर्को बहानामा अर्को जिल्लाबाट ल्याइएका तरकारीहरु खाल्डो खनेर पुर्नेजस्ता कार्यहरु भएको भन्ने समाचारहरुप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी/गराई तरकारी, फलफूललगायतका वस्तुहरु उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानूनविपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जो कोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने र सोहीअनुसारको कारबाही प्रशासनले गर्ने गृहले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।