काठमाडौं- घुस लिएको आरोपमा सिन्धुलीको जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिनबहादुर घोले र जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ६१ वर्षीय तिर्थ बहादुर राना पक्राउ परेका छन्।
दुधौली नगरपालिका- ४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरू सिन्धुलीकै तिनपाटन गाउँपालिका- १० औलडाँडास्थित लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
उक्त कुखुरा फर्मका पुराना काठहरू तिनपाटन गाउँपालिका- १० तर्फ लैजाने क्रममा उनीहरूले घुस रकम लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले मिन बहादुरको साथबाट ३ लाख रुपैयाँ र तिर्थ बहादुरको साथबाट ३० हजार ५ सय रुपैयाँ बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।