काठमाडौं- संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले कोभिड १९ का कारण प्रभावित किसानलाई तत्काल राहत र क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ।
समितिको बिहीबार बसेको बैठकले कोभिड १९ का कारण समस्यामा परेका किसानलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्थासँगै वास्तविक कृषकलाई उत्पादनका आधारमा सरल ढंगले अनुदान उपलब्ध गराउन पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो। त्यस्तै कृषकहरुलाई बीऊ तथा मल र नवीनतम प्रविधि समयमै उपलब्ध गराई कृषकको लागतको आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्नेगरी कृषि उपजको बजारीकरणको प्रबन्ध गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ।
त्यस्तै कोभिड १९ महामारीका कारण संकटमा परेको पोल्ट्री व्यवसायलाई जोगाउन तत्काल कार्ययोजना ल्याउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ। ‘कोभिड-१९ को महामारीले थिचिएका पोल्ट्रि कृषकहरुलाई सामान अभावलगायतका बहानामा गुणस्तरहीन दाना तथा औषधीको बिक्री गरी किसानलाई थप मारमा पारी रहेको वर्तमान अवस्थामा खाद्य प्रविधि तथा गुणस्तर विभागको कामकारबाहीमा प्रश्न उठाउन थालिएको छ।’ समितिले मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ‚ ‘तसर्थ कुखुरा पालक कृषकहरुलाई गुणस्तरीय दानामात्र उपलब्ध गराउन दाना उद्योगीहरुलाई अनुरोध गर्दै दानाको गुणस्तर नियमित चेकजाँच गरी कैफियत देखिएमा तुरुन्त कारबाही गर्न निर्देशन गरिन्छ।’
समितिले गृह मन्त्रालयलाई निर्देशन दिँदै ‘कोभिड १९ रोकथाम गर्ने नाममा कानूनलाई हातमा लिई अनधिकृत रुपमा तरकारी तथा फलफुल नष्ट गर्ने सम्बन्धित व्यक्तिलाई कानून बमोजिम कारवाही गरी किसानका तरकारी निर्वाध रुपमा ओसार पसार गर्न सक्ने व्यवस्था गर्न/गराउन’ समेत भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।