काठमाडौं- शुक्रबारदेखि कोरोना बीमा नहुने भएको छ। कोरोनाको जोखिम दिन प्रतिदिन बढ्दै गएपछि बीमक संघले कोरोना बीमा पोलिसी रिफर्म गर्नुपर्ने माग गर्दै पोलिसी बिक्री नगर्ने निर्णय गरेको हो।
तत्कालका लागि कोरोना बीमा बिक्री बन्द गर्ने निर्णय भएको बीमक संघका प्रवक्ता चंकी क्षेत्रीले जानकारी दिए। कोरोना बीमा पोलिसीमा थप जोखिम देखिएपछि बीमा समितिको सहमतिमा स्थगन गरिएको हो।
बजेटमा राष्ट्र सेवकको कोरोना बीमा गराउने सरकारले गर्ने भनिएको छ। त्यस्तै सम्पुर्ण नेपालीको कोरोना बीमाको ५० प्रतिशत प्रिमियम सरकारले भुक्तानी गर्ने भनेको छ। तर यो पोलिसी ल्याउदा विपन्न वर्गलाई लक्षित गरी 'माइक्रो पोलिसी' ल्याइएको थियो। पोलिसी ल्याउँदा 'माइक्रो पोलिसी'को रुपमा ल्याइएको तर सरकारले बजेट मार्फत आम नेपालीलाई समेट्ने व्यवस्था गरेसँगै पोलिसीको पुनरसंरचना गर्नुपर्ने आवश्यकता देखिएको हुँदा तत्कालका लागि पोलिसी बिक्री गर्न रोकिएको क्षेत्रीले जानकारी दिए। उनले भने 'तर पोलिसी नै बन्द गर्ने भनिएको होइन।'
बीमा कम्पनीहरूले कोरोना बीमाको प्रिमियम भुक्तानी गर्ने मोडालिटी माग गरेका छन्। अहिलेसम्म तीन लाखभन्दा धेरै नेपालीको कोरोना बीमा भइसकेको छ। अब उनीहरूले भुक्तानी गरेको प्रिमियम के हुने त्यसको पनि टुङ्गो छैन। सरकारले कोरोना बीमा गराउने भन्दै गर्दा कम्पनीहरूले व्यक्तिगत रुपमा प्रिमिमय संकलन गर्न असहज भएको हो।
माइक्रो पोलिसीको रुपमा ल्याइएको हुँदा अहिलेसम्म कोरोना बीमाको पुनर्बीमा हुन सकेको छैन। सरकारले सम्पुर्ण नेपालीको कोरोना बीमा गराउने व्यवस्था गरेसँगै पुनर्बीमा कम्पनी पनि खोज्नुपर्ने क्षत्रीले बताए। कोरोना बीमा सम्पुर्ण कम्पनीहरूले नेटवर्थको आधारमा दायित्व बहन गर्नेगरी पुल क्रियट गरी बीमा हुँदै आएको छ। यस्तो अवस्थामा नयाँ कम्पनीहरूको नेटवर्थभन्दा दायित्व बढी देखिन थालेको छ।
बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी गर्दा सरकार र बीमा कम्पनीको समन्वय हुनुपर्ने माग राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।