काठमाडौं- नेपाल राष्ट्र बैंकले सुन्धारामा अलपत्र अवस्थामा रहेको पैसा छाप्ने मेसिन बबरमहलको टक्सार विभागमा सार्न बल्न सुरु गर्ने भएको छ। औषधी लिमिटेडले आफ्नो गोदाम खालि गरेसँगै केही दिनपछि मेसिन बबरमहलमा सार्ने टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
औषधि लिमिटेडले आफ्नो गोदाम खाली नगर्दा विगत ६/७ महिनादेखि पैसा छाप्ने मेसिन खुला आकासमुनी पानीमा भिजेर बसेका छन्। औषधी लिमिटेडले आफ्नो गोदाम खाली गरेसँगै बल्ल पैसा छाप्ने मेसिन ल्याउने काम सुरु भएको आचार्यले बताए। करिब ५० वटा काम लाग्ने र कामै नलाग्ने २३ वटा मेसिन अहिले खुला आकासमुनि असुरक्षित अवस्थामा छन्। वर्षातको समयमा पानी पर्दा भिजेर बिग्रने अवस्थामा छन्।
नेपाल राष्ट्र बैंकको सुन्धाराको टक्सार विभाग बबरमहल सरेसँगै पैसा छाप्ने मेसिन पनि सँगै लैजाने सहमति भएको थियो। तर औषधी लिमिटेडको अटेरीले सार्न सकेको थिएन।
औषधी लिमिटेडले आफ्नो कार्यालय सारिसकेको भए पनि उसले गोदाम खाली नगर्दा सुन्धाराबाट सिक्का छाप्ने मेसिन ल्याउन नसकिएको टक्सार विभागका प्रमुख आचार्याले बताए।
सुन्धाराको जग्गा नेपाल पुनर्निर्माण प्राधिकरणले धरहराकै लागि भनेर लिएपछि राष्ट्र बैंकले बबरमहलस्थित साविकको औषधी लिमिटेडको भवन १० वर्षका लागि लिजमा लिएको हो। भवन लिएर कार्यालय सञ्चालनमा आए पनि विभागको मेसिनहरू सार्न सकेको छैन।
धरहरा निर्माणका क्रममा हाल सुन्धारामा रहेका मेसिन असुरक्षित हुँदै गएको हुँदा बिग्रिने उच्च जोखम रहेको छ। धरहरा निर्माण गर्ने क्रममा जग्गा खाली गर्ने क्रममा पुरानो संरचना भत्काइएको छ। बबरमहल नसारी भएको संरचना भत्काउदा मेसिनहरू खुला आकाशमुनी असुरक्षित छन्।
हाल ५० वटा भन्दा धेरै मेसिन सुचारु हुने अवस्थामा रहेको र केही मेसिन मर्मतसम्भारपछि मात्रै चल्ने अवस्थामा रहेको छ। मर्मत सम्भारका लागि ५ करोड रुपैयाँको बजेट छुट्टिएको भए पनि मेसिन सार्न नसक्दा मर्मतको काम अगाडि बढेको छैन।
मेसिन स्थानान्तरण नहुँदा सातवटै प्रदेशको चिनारी झल्कने गरी टकमरी सिक्का छाप्ने काम पनि अगाडि बढ्न सकेको छैन। हरेक प्रदेशका सामाजिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक चिनारी झल्किने खालका दृश्यसहित टकमरी सिक्का छाप्ने तयारी रहेको आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।