f
काठमाडौं- सरकारले कोरोना भाइरसको रोमथाम तथा नियन्त्रणका लागि भन्दै गरेको लकडाउनका कारण सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका लागि ७० करोड रुपैयाँ भन्दा बढी खर्च व्यहोनुपर्ने भएको छ।
सुरुमा सरकारले कोषमा आबद्ध श्रमिकको चैत महिनाको मात्रै योगदान रकम बेहोर्ने निर्णय गरेको थियो। तर, आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउन अवधिभरको श्रमिकले कोषमा योगदान गर्ने रकम सरकारले व्यहोर्ने नै गर्ने घोषणा गरिसकेका छन्। सोहीअनुसार अहिले प्रक्रिया अगाडि बढेको कोषले जनाएको छ। जसअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध १ लाख ६० हजार श्रमिकको चैत महिनाको भुक्तानी अर्थ मन्त्रालयले गरिसकेको छ।
कोषका कार्यकारी निर्देशक कपलमणि ज्ञवालीका अनुसार सरकारले चैत महिनामा श्रमिकको तर्फबाट भुक्तानी हुन पर्ने १८ करोड ६७ लाख रुपैयाँ कोषमा आइसकेको छ। कोषमा आइपुगेको रकम श्रमिक आबद्ध संस्थाबाट श्रमिकले चैत महिनाको तलब नियमित रुपमा भुक्तानी गरेको विवरणसहितको आधिकारिक पत्र कोषको इमेलमार्फत पठाउन समेत सूचना जारी गरिसकिएको छ।
सम्बन्धित प्रतिष्ठानबाट प्राप्त हुने पत्रका आधारमा कोषले सम्बन्धित योगदानकर्ताको योगदान रकममा जम्मा गर्ने व्यवस्था मिलाउने कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए।
उनका अनुसार अब बैसाख महिनाको करिब २५ करोड रुपैयाँ सरकारको तर्फबाट आउने क्रममा रहेका छ। उक्त रकम पनि केही दिनमै कोषको खातामा आउने ज्ञवालीले जानकारी दिए। यसैगरी, जेठ महिनाको भुक्तानी पनि सरकारले नै गर्ने भएको छ।
लकडाउन अवधिभरका लागि श्रमिकले योगदान गर्ने रकम सरकारले नै व्यहोर्ने घोषणा गरेसँगै सरकारलाई यसवापत थप ७० करोड रकम व्ययभार बढ्ने भएको छ।
ज्ञवालीका अनुसार अहिलेसम्म कोषको खातामा १ अर्ब १० करोड ३२ लाख ५९ हजार रुपैयाँ जम्मा भइसकेको छ। साथै १ लाख ६० हजार १ सय ९१ जना कोषमा आबद्ध भइसकेका छन् भने १२ हजार ३ सय ४८ रोजगारदाता आबद्ध भइसकेका छन्।
वैशाख महिनाभन्दा जेठ महिनामा सरकारले गर्ने भुक्तानीसमेत बढ्ने उनको भनाइ छ। चैत, वैशाख र जेठ महिनाको गरी कोषमा सरकारले श्रमिकले योगदान गर्नु पर्ने करिब ७० करोडभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।