त्रिपुराकोट– हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि संकलन दस्तुरमा अतिरिक्त ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त ५ सय रुपैयाँ तिर्नुपर्ने भएको हो।
यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणलाई प्रतिव्यक्ति ५ सय, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि प्रतिव्यक्ति २ हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँ तोकिएकामा यी सबै प्रकारका संकलन दस्तुरमा यस वर्षदेखि यार्सागुम्बा पाटनमा संकलन इजाजत दिनका लागि अतिरिक्त ५ सय रुपैयाँ सेवा शुल्कका रुपमा लिन पाउने निर्णय गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए।
सम्बन्धित मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले अतिरिक्त उठाएको ५ सय रुपैयाँ समितिकै खातामा जम्मा हुने र सो रकमबाट मध्यवर्ती क्षेत्रभित्रको संरक्षण शिक्षा, चोरीशिकारी नियन्त्रण, जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न कार्यक्रममा खर्च गरिने निकुञ्जले जनाएको छ। बहुमूल्य जडीबुटीको पकेट क्षेत्रका रुपमा रहेको डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि विभिन्न जिल्लाबाट वर्षेनी हजारौँ मान्छे भित्रने गर्दछन्। उनीहरुलाई वितरण गरिएको संकलन इजाजतबाट मात्रै वर्षेनी करोडौँ राजश्व संकलन हुने गर्दछ।
बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका सिजन प्रत्येक वर्षको जेठको पहिलो सातादेखि सुरु भइ असार पहिलो सातासम्मको एक महिने अवधिका लागि मात्रै निकुञ्जले संकलन इजाजत दिने गर्दछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।