काठमाडौं- निरन्तरको लकडाउनका कारण जीवन चलाउन कठिनाइ हुन थालेपछि साना व्यवसायीले लकडाउनको प्रतिकार थालेका छन्। व्यवसायीले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट लकडाउन प्रतिकार गर्दै व्यवसाय सञ्चालन थालेका हुन्।
व्यवसायीले काठमाडौं उपत्यबाटै प्रतिकार सुरु गरेपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले लकडाउन खुकुलो बनाउने विषयमा छलफल गरेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको बैठकले लकडाउन खुकुलो बनाउने विषयमा छलफल गरेको छ।
काठमाडौंको नयाँ सडकबाट व्यवसाय खुला गर्ने भन्दै व्यवसायीले प्रतिकार थालेका छन्। काठमाडौं उपत्यका बाहिर पनि व्यवसाय सञ्चालन थालिएको उद्योग वाणिज्य संघका पदाधिकारीहरुले जनाएका छन्। काठमाडौंको बौद्ध क्षेत्रमा बुधबार प्रदर्शन नै भएको थियो।
महासंघले विराटनगर, झापा, पर्सा, कैलालीलगायतका जिल्लाबाट व्यवसाय सञ्चालन सुरु भएको जनाएको छ। 'लकडाउन उल्लंघनभन्दा पनि वातावरण हेरेर व्यवसाय सञ्चालन गर्न सुरु भएको छ,' महासंघका एक पदाधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।