काठमाडौं- जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ। प्रदेश पाँचको बाँकेपछि प्रदेश- २ को पर्साले यस्तो निर्णय गरेको हो।
बुधबार बसेको जिल्लाको सर्वदलीय र सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। पर्सामा शुुक्रबारदेखि जोर/बिजोर प्रणालीअनुसार व्यवसाय सञ्चालन गर्न पाउने उल्लेख छ।
लामो समयदेखिको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गर्दै शुुक्रबारबाट जोरबिजोर प्रणालीअनुसार व्यवसाय सञ्चालनको अनुमति दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्सलगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने अनुमति दिइएको उनले बताए।
यसैगरी बिजोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवर्क्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने बस्नेतले बताए।
सवारी साधन र अन्यका विषयमा पनि पहिलेको भन्दा केही खुकुलो पार्ने निर्णय भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।