काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण हुने मृत्युका विषयलाई लिएर नयाँ परिभाषा गरेको छ। मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा संशोधन गर्दै कोरोनाका कारण हुने मृत्युलाई परिभाषित गरेको छ।
संशोधित निर्देशिकाअनुसार अब कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण संक्रमितको मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोना भाइरस कोभिड-१९ बाट मृत्यु भएको मान्न नमिल्ने उल्लेख छ।
‘कोभिड-१९ बाट मृत्यु भन्नाले कुनै अन्य स्पष्ट र कोभिड-१९ सँग सम्बन्धित नहुने (जस्तै गम्भीर चोटपटक) र क्लिनिकल चिन्ह, लक्षणहरु र निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशलाई बुझ्नुपर्छ। कोभिड-१९ले बिरामी भए देखि मृत्युहुँदा सम्मको अवधि बीचमा निज पूर्णत: निको नभएको हुनुपर्छ।'
जनस्वास्थ्य विज्ञले भने कोरोना नियन्त्रणमा सरकार असफल भएपछि मृत्युको संंख्या कम देखाउन सरकारले बठ्याईँ गरेको आरोप लगाएका छन्।
'विश्व स्वास्थ्य संगठनले मृत्युका विषयमा प्रष्ट भनेको छ। तर हाम्रोमा घुमाउरो भाषा राखेर मृत्यु कम देखाउने चलाखी गरिएको छ', एक जनस्वास्थ्य विज्ञले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ।
यस्तो छ निर्देशिका:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।