काठमाडौं- प्रदेश पाँचको कोरोना भाइरसबाट प्रभावित जिल्ला बाँकेले लकडाउनलाई केही खुकुलो गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै पसल र व्यवसाय खोल्नका लागि दिन र समय तोकेको छ।
त्यस्तै सवारी साधानहरूको आवतजावतलाई पनि खुकुलो गर्ने निर्णय गरेको छ। जिल्लामा भएको सर्वदलीय र सर्वपक्षीय बैठकपछि जिल्ला प्रशासनले अलि खुल्ला गर्ने निर्णय गरेको हो। हाल बाँकेमा २१३ जना संक्रमित रहेका छन् भने २७ जना उपचारपछि निको भएर फर्केका छन्।
अन्य बिरामीहरूको पनि अवस्था सामान्य रहेको र भारतबाट आउनेहरूलाई व्यवस्थित क्वारेन्टाइनमा राखिएको र जाँचमा वृद्धि भएकाले केही खुकुलो बनाउने निर्णय जिल्ला प्रशासनले गरेको हो।
जिल्ला प्रशासनले आइतबार र बुधबार मोवाइल, इलोट्रोनिक्स, स्टेशनरी/पुस्तक पसल, फोटो स्टुडियो छापाखाना, फर्निचर, फर्निसिङ र भाडा पसल ११ बजेदेखि ३ बजेसम्म खोल्न दिने निर्णय गरेको छ। सोमबार र बिहीबार कपडा , फेन्सी, चुत्ता चप्पल र गरहगना पसल खोल्न दिइने निर्णयमा उल्लेख छ।
मंगलबार र शुक्रबार अटो मोबाइल्स, कोल्डस्टोर, जुस, मोटरसाइकललगायतका पसलहरू खुल्ने निर्णयमा उल्लेख छ। औषधी, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, बिउबिजन र मलखादलाई दैनिक खोल्न दिने निर्णय गरिएको छ। सवारी साधनको हकमा पनि जिल्ला प्रशासनले वर्गीकरण गरी चलाउने अनुमति दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।