काठमाडौं- नेपाल र चीनबीचको रसुवागढी नाका सञ्चालन गर्न छलफल अघि बढाइएको छ। चिनियाँ पक्ष र नेपालबीच यो नाका सञ्चालन गर्ने विषयमा छलफल अघि बढेको हो।
रसुवाढी नाका सञ्चालन गर्न नेपाल र चीनबीच निरन्तर छलफल अघि बढेको र केही दिनमा नै ठोस नतिजा आउने भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए। विभागले चिनियाँ राजदूतावाससँग पनि छलफल अघि बढाएको उनले बताए।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा परराष्ट्र मन्त्रालयमार्फत पनि चिनियाँ पक्षसँग संवाद अघि बढाइएको छ। चीन र नेपाली परराष्ट्रका अधिकारीहरूबीच भिडियो कन्फरेन्समा वार्तासमेत भएको छ। यस्तै स्थानीय तहमा दुई देशबीचको सीमा सञ्चालनका लागि छलफल अघि बढाउन प्रमुख जिल्ला अधिकारी तथा रसुवागढी भन्सार कार्यालय प्रमुखलाई निर्देशन पनि दिइएको छ।
यो नाका नखुल्दा चीनतर्फ २०० भन्दा धेरै कन्टेनर अड्केका छन्। तिनीहरूलाई सुरक्षित हिसाबले नेपाल भित्र्याउने र नाका सञ्चालन नियमित गर्नेगरी छलफल अघि बढाइएको दाहालले जानकारी दिए। 'हामी निरन्तर छलफलमा जुटेका छौं, भन्सार सञ्चालन गर्ने र दुई देशबीचको आर्थिक कारोबार अघि बढाउने आशामा छौं,' उनले भने।
चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा रसुवागढी नाका बन्द गरिएको थियो। अहिले पनि कोरोना संक्रमणको जोखिमका कारण यो नाकाबाट दुई देशबीचको कारोबार हुन सकेको छैन। चीनसँगको वैदेशिक व्यापार हुने सिन्धुपाल्चोकको तातोपानी भन्सार भने अहिले नियमित सञ्चालनमा आएको छ।
रसुवागढी भन्सार नियमित सञ्चालन गर्न भन्सारका कर्मचारी रसुवा गइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।