काठमाडौं- भारतमा फैलिरहेको सलह किराको नेपाल प्रवेश रोकथाम तथा जोखिम न्यूनीकरणबारे अध्ययन गर्न गठित ६ सदस्यीय प्राविधिक समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको छ।
अध्ययन समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसार नेपालमा सलह किरा भित्रन सक्ने सम्भावना निकै न्यून रहेको र भित्रिहाले पनि निकै सानो विखण्डित झुण्डमात्रै आउनसक्ने आंकलन गरिएको छ। ‘सलह कीरा मानवको पहुँचभन्दा टाढा मरूभूमीमा मात्र वंश वृद्धि गर्ने, अत्यन्त चलायमान र वयस्कको विखण्डित झुण्डको रूपमा मात्र नेपाल आउने सम्भावना देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसकारण एकीकृत व्यवस्थापनको विधि हाम्रो परिप्रेक्षमा सान्दर्भिक छैन।’
सलहको झुण्ड नेपालमा प्रवेश गरेको अवस्थामा तत्काल यसको नियन्त्रणका लागि विषादीको प्रयोग बाहेक अन्य धेरै विकल्पहरू नरहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ। तर नेपालमा सलह कीराको प्रकोप भइहालेको अवस्थामा सफल व्यवस्थापनको लागि रणनैतिक कार्ययोजनाहरू बनाउनुपर्ने पनि कार्यदलले तयार पारेको प्रतिवेदनमा भनिएको छ।
त्यस्ता रणनीतिक कार्ययोजनाअन्तर्गत एकीकृत व्यवस्थापन, आर्थिक समन्वय, अनुसन्धान, संस्थागत कार्य विभाजन, प्रभावकारी श्रोत साधनको उपयोग र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ।
यस कीराको नियन्त्रणको लागि प्रकोपको बिगबिगी भएका क्षेत्रहरू आन्तरिक तथा अन्तरदेशीय संस्थाहरू तथा खाद्य तथा कृषि संगठन (एफएओ) लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा यसको स्थानान्तरणको अनुगमन र नियन्त्रणहरूबारे व्यापक रूपमा काम हुने गरेको छ। यस कीराको आगमनको जोखिम र सम्भावित फैलावट हेरी नेपालमा पनि यस्ता संस्थाहरूको सहकार्यमा यो कीराको अध्ययन र अनुसन्धान कार्य गरिनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा तथ्यगत पूर्वानुमानको आधारमा यसको नियन्त्रणको तयारी गर्नुपर्ने भएकोले पूर्वानुमान गर्ने क्षमताको विकास गर्न र नियन्त्रणका पूर्वाधारहरूको विकास गर्न पनि जरूरी रहेको जनाइएको छ। तत्काल यस कीराको बारेमा जनमानसमा यथार्थ जानकारी गराउने, चेतना जगाउने, अन्य फट्यांग्रा र यस कीराको फरक छुट्याउन सक्ने क्षमता विकास गर्नुपर्ने तथा भ्रमित र आतंकित नभई सजग हुनुपर्ने पनि प्रतिवेदनमा जनाइएको छ।
विषादी प्रयोग बाहेक भौतिक नियन्त्रणका उपायबारे पनि अध्ययन समितिले सुझाव दिएको छ। ‘सलह धेरै पोषिलोयुक्त कीरा भएकोले जालोको पासोमा संकलन गरी दाना बनाउनका लागि प्रयोग गर्न सकिन्छ।’ सुझावमा भनिएको छ। ‘सलह आउँदै गरेको अवस्थामा कुनै पनि माध्यम जस्तैः आवाज, धुवाँ, आदिको प्रयोगबाट बस्न बाधा पुऱ्याई झुण्डलाई अन्यत्रै मोडिदिने पनि गर्न सकिन्छ।’
त्यस्तै नर्सरी, करेसाबारीजस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिन्छ प्रतिवेदनको सुझावमा भनिएको छ। यद्यपी वयस्क अवस्थामा एकाएक स्थानान्तरण गर्दै आउने भएकाले सलह नियन्त्रणको प्रभावकारी उपाय भने विषादीको प्रयोग नै रहेको अध्ययनको निष्कर्ष छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत हप्ता सलह किराको प्रकोप नियन्त्रण तथा रोकथामका लागि अबलम्बन गरिनुपर्ने सुरक्षा उपायबारे अध्ययन गर्न प्लान्ट क्वारेन्टाइन एवं विषादी परिक्षण केन्द्रका प्रमुख सहदेश प्रसाद हुँमागाईको संयोजकत्वमा कृषि वैज्ञानिक तथा प्राविधिकहरू सम्मिलित अध्ययन समिति गठन गरेको थियो।
यस्तो छ अध्ययन समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।