काठमाडौं- पश्चिम रुकुमको एक प्रहरी चौकीमा वडाध्यक्षको नेतृत्वमा तोडफोड भएको छ। मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीको समूहले छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको हो।
मंगलबार राति करिब ९ बजेतिर केसीको समूहका आएका २०/२५ जनाको समूहले चौकी तोडफोड गरेको पश्चिम रुकुमका डिएसपी ठकबहादुर केसीले नेपाल लाइभलाई जानकारी दिए। उनका अनुसार रक्सी पिएर मोटरसाइकलमा आएको उक्त समूले चौकी तोडफोड गरेको हो।
तोडफोड भएको थाहा पाएपछि स्थानीय आएर घेर्न थालेपछि मोटरसाइलमै उक्त समूह भागेको केसीले बताएका छन्।
उनीहरुको खोजी भइरहे पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्। ‘राति नै भागेर सल्यान पुगेको भन्ने जानकारी आएको छ। हामी खोजीरहेका छौं’, डिएसपी केसीले भने।
वडाध्यक्षको समूहले चौकीमाथि ढुंगामुढा प्रहारगर्दै आक्रमण गरेको थियो। असई धनबहादुर साउदसहित उक्त चौकीमा ६ जना प्रहरी थिए। चौकी तोडफोड गरेपछि उनीहरुले चौकी इन्चार्ज साउदको साथमा रहेको पेस्तोल समेत खोस्न खाजेको रुकुम प्रहरीले जनाएको छ। सो क्रममा असई साउदको बर्दी समेत च्यातिएको थियो। अन्य दुई जना प्रहरी जवानमाथि समेत उनीहरुले कुटपिट गरेका थिए।
चौकी नै तोडफोड गर्दै प्रहरीमाथि नै हातपात गर्नुको कारण भने मोटरसाइकल चलाउँदा वडाध्यक्षले हेल्मेट नलाएको विषयबाट सुरु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। मंगलबार दिउँसो वडाध्यक्षले हेलमेट नलगाई मोटरसाइकल चलाएपछि प्रहरीले उनलाई यसरी चलाउन नमिल्ने भन्दै सम्झाएका थिए। सोही रिसमा मलाई थर्काउने भन्दै आक्रमण गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।