काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघ सहित निजी क्षेत्रका विभिन्न संघ/संस्थाका प्रतिनिधिले उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलल समक्ष कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावबारे जानकारी गराएका छन्।
नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखेरल समक्ष निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनबीच पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने सुझाव राखेका थिए।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोरोनाको संक्रमण लामो समयसम्म रहने हुँदा अब लकडाउनलाई केही खुकुलो बनाउँदै उच्च सतर्कता अपनाएर निर्माण कार्य गर्नुपर्ने बताए। उनले निर्माण कार्य गर्नका लागि नदीजन्य सामग्री र अन्य निर्माण सामाग्री सहज रुपमा उपलब्ध हुनुपर्ने माग गरे।
अध्यक्ष सिंहले स्थानीयलाई रोजगारी दिने र विदेशबाट स्वदेश फर्कने र अन्य क्षेत्रबाट बेरोजगार हुने करिब पन्ध्र लाख श्रमिकलाई रोजगारी सिर्जना गर्नका लागि स्थानीय जिल्लामा ५ करोड रुपैयाँसम्मका निर्माण कार्यहरु खुला बनाई स्थानीय स्तरमा प्रतिस्पर्धा गराउने गरी प्याकेज बनाउनुपर्ने धारणा राखे।
भौतिक पूर्वाधारको विकास मार्फत समृद्ध अर्थतन्त्र निर्माण गर्ने बजेटको उद्देश्य प्राप्त गर्न र कोभिड-१९ को कारण गम्भीर असर परेको निर्माण व्यवसायको उत्थानका लागि महासंघले नेपाल सरकारलाई बजेट निर्माणका सन्दर्भमा उपलब्ध गराएका सुझावहरुमध्ये बाँकी सम्बोधन हुन नसकेका सुझाव कार्यान्वयनको लागि पनि अध्यक्ष सिंहले अनुरोध गरेका थिए।
कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निजी क्षेत्रको धारणा बुझ्न आयोजना गरेको छलफल कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष सिंहसँगै पूर्वअध्यक्ष यक्षध्वज कार्की, महासंघका एसोसिएट तर्फका उपाध्यक्ष आङ दोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, निर्माण व्यवसायी लालकाजी गुभाजु, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐरको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।