काठमाडौं- देशभरका क्वारेन्टाइनमा १ लाख ४५ हजार मानिस रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातै प्रदेशका स्थानीय निकायले उनीहरूको निगरानी गरिहेको छ।
प्रदेश १ मा ३ हजार ६ सय ३५‚ प्रदेश २ मा २२ हजार ५ सय ३६‚ बागमती प्रदेशमा ३ हजार ८, गण्डकी प्रदेशमा ४ हजार ३ सय १५‚ प्रदेश ५ मा ४० हजार ६ सय १७, कर्णाली प्रदेश २६ हजार ४ सय ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा रहेका छन्। यसरी क्वारेन्टाइनमा रहेकामध्ये अधिकांश भारतबाट आएकाहरू रहेका छन्। उनीहरूको कोरोना परीक्षणका लागि पिसिआर र आरडिटी भइरहेको मन्त्रालयले जनाएको छ।
आइसोलेसनमा १ हजार ८ सय २५ जनाको उपचार भइरहेको छ। डिस्चार्ज हालसम्म २ सय ६६ जना रहेका छन्।
क्वारेन्टाइनमा व्यवस्थित गर्ने कुरा सबै पक्ष, स्थानीय तह, सुरक्षाकर्मीलगायतले काम गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ। थप कार्यविधि बनाउने काम स्वास्थ्य मन्त्रालयले गराइरहेको प्रवक्ता विकास देवकोटाले बताए।
गर्भवतीका लागि अस्पताल खोल्न निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्भवती र सुत्केरीहरूलाई सहज बनाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ। एक अस्पतालबाट अर्को अस्पतालमा लैजान नियमित गर्न अपिल गरेको प्रवक्ता देवकोटाले बताए। सबै अस्पतालले नियमित गर्न र एम्बुलेन्सहरू पनि चालू राख्ने मन्त्रालयले निर्देशन दिएको हो। नेपाल एम्बुलेन्स सर्भिसलाई पनि भनिएको उनले बताए। काठमाडौं उपत्यकाभित्र १०२ मा फोन गरेर यो सेवा उपत्यकामा पाउने र उपत्यका बाहिर १००मा फोन गरेर यो सेवा लिन सक्ने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।