काठमाडौं– सरकारले विदेशबाट आउनेहरुका लागि ‘होल्डिङ सेन्टर’ पार्टी प्यालेसलाई बनाउने तयारी गरेको छ।
विदेशबाट आएकालाई आवश्यक प्रक्रिया पूरा गरेर मात्रै क्वारेन्टाइनमा पठाउनका लागि चक्रपथ आसपासका पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाउने तयारी गरेको हो।
उपयुक्त पार्टी प्यालेसहरुमा प्रदेशगत रुपमा कम्तीमा एउटा होल्डिङ सेन्टरको व्यवस्था गरिनेछ। होल्डिङ सेन्टर नेपाली सेना तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सहयोगमा सम्बन्धित प्रशासनले तोक्नेछ।
होल्डिङ सेन्टरको खर्च भने सरकार स्वयंले व्यहोर्नेछ।
होल्डिङ सेन्टरमा रहेकाको पालिकागत विवरण तयार गरिनेछ। ट्रेसिङ सहजताका लागि निजको मोबाइल नम्बर लिइनेछ। नम्बर नहुनेहरुका लागि सरकारले निःशुल्क सिमकार्ड उपलब्ध गराउनेछ।
होल्डिङ सेन्टरमा आवश्यक प्रक्रिया पूरा भएपछि होटल क्वारेन्टाइनमा बस्नेलाई सिधै व्यवस्थापन गरिएको होटलमा र स्थानीय तहको क्वारेन्टाइनमा बस्नेलाई सम्बन्धित जिल्लासँग समन्वय गरी जिल्लागत रुपमा छुट्याइएको यातायात साधनबाट जिल्ला सदरमुकामसम्म पुर्याइनेछ। जिल्ला सदरमुकाममा स्थानीय तहले यसरी आउनेलाई जिम्मा लिई तोकिएको क्वारेन्टाइनमा राख्नुपर्नेछ।
स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्नेको लजिस्टिक, खानपिनलगायत अन्य आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ।
नेपाली सेनाले काठमाडौं उपत्यका र मुलुकका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनको सञ्चालन, नियन्त्रण र निर्देशन गर्नेछ। भारतबाहेक अन्य मुलुकबाट आउनेले हवाइ उडान, होटल क्वारेन्टाइन लगायत सम्पूर्ण खर्च आफैंले बेहोेर्नुपर्नेछ।
तर सम्बन्धित श्रम गन्तव्य मुलुक, रोजगारदाता कम्पनी वा म्यानपावर कम्पनीले हवाइ खर्च, यातायात, होटल क्वारेन्टाइन लगायतमध्ये केही खर्च व्यहोरिदिएको अवस्थामा बाँकी खर्चमात्र सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्नेछ।
विदेशबाट नेपाली फर्काइने प्राथमिकताका आधारहरुः
सजायबाट आममाफी पाएका
डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल आउने अनुमति प्राप्त भएका
जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका
आफन्तको मृत्यू भई काजक्रियाका लागि नेपाल आउनुपर्ने
श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका
कोभिड बाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य अबस्था भएका
सुत्केरी तथा गर्भवती महिला
बालबालिका तथा जेष्ठ नागरिक
सरकारी सेवामा रही अध्ययन तथा तालिममा गएका
अध्ययन समाप्त भएका विद्यार्थी
नेपाल आउन पर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी
पारिवारिक पुनर्मिलनका लागि गएका
कम्पनीबाट बिदा पाएका
अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेका, नेपाल आउनुपर्ने अवस्थाका
पर्यटक तथा व्यापारिक भिसामा गएका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।