काठमाडौं- सरकार र एसियाली विकास बैंक (एडिबी) बीच ३० अर्ब रूपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ। कोभिड-१९ एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट कार्यक्रममा खर्च गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडिबीका देशीय प्रबन्धक मुख्तोर खामुदखानोभ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
'कोभिड-१९ विरुद्धको नेपालको लडाईंमा सहयोगका लागि एडिबीलाई धन्यवाद दिन चाहन्छु,' अर्थसचिव ढुंगानाले भने, 'यो कार्यक्रमले सरकारको सहयोग कार्यक्रमलाई पनि टेवा दिन्छ। यसले नेपालको स्वास्थ्य सेवा सुधार, सामाजिक सुरक्षा र रोजगारी सिर्जनामा सहयोग पुर्याउँछ।'
एडिबीका देशीय प्रबन्धक खामुदखानोभले नेपाललाई संकटको समयमा सहयोग गर्न एडिबी प्रतिवद्ध रहेको बताए।
यो ऋण बजेटरी सहयोग अन्तर्गतको हो। यो रकम नेपालको सार्वजनिक स्वास्थ्य सुधार र ल्याब सुविधा बढाउन खर्च गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।