काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले पेट्रोलियम पदार्थमा भन्सार शुल्क बढाए पनि उपभोक्ताले बढी मूल्य तिर्नु नपर्ने बताएका छन्।
सरकारले आगामि आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ भन्सार शुल्क बढाइएको थियो। तर बजेटमाथि उठेका प्रश्नहरुको सोमबार संसदमा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले नेपालबाट भारतमा हुने तस्करी रोक्न भन्सार शुल्क बढाइएको र यसले बजार मूल्यमा असर नपर्ने बताएका हुन्।
‘पेट्रोलियमका बारेमा त्यति धेरै बहस भएन। पहिलो कुरा त हामी छिमेकी मुलुकसँग सीमा वारपारको मूल्य प्रतिलिटर २२-२३ रुपैयाँ थियो। त्यति धेरै फरक मूल्य राखेर हामी सीमावर्ती क्षेत्रमा आपूर्ति व्यवस्था सहज गर्न सक्दैनौं। त्यो फरकलाई कम गर्नका लागि भन्सारका दरहरुमा समायोजन गरिएको हो,’ उनले भने, ‘यसैका आधारमा तत्कालै पेट्रोलियम पदार्थको मूल्य बढ्ने अवस्था हुँदैन। नेपाल आयल निगम यो कर तिरेर र अहिलेकै मूल्यमा बेचेर पनि नाफा कमाउने स्थितिमा छ।’
कोभिड-१९ का कारण अहिले हवाई क्षेत्र सबैभन्दा बढी प्रभावित भएका कारण राहतका रुपमा हवाई इन्धनमा लाग्दै आएको प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर हटाइएको पनि उनले बताए।
‘हवाई इन्धनमा पूर्वाधार कर लगाइएको थियो। त्यसलाई मैले हटाइदिएको छु। कारण के भने हवाई क्षेत्र अहिले सबैभन्दा बढी मारमा छ। र भोलि हामीले हवाई सेवा सञ्चालन गर्ने निर्णय गर्दा व्यवसायीहरुले अलिकति सस्तो रुपमा हवाई इन्धन प्राप्त गर्न सकून् भनेर त्यो हटाइएको हो,’ अर्थमन्त्री खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।