काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले बजेटले सामुदायिक विद्यालय निजीलाई जिम्मा दिने नभनेको स्पष्ट पारेका छन्। बजेटमा एक निजी विद्यालयलाई एक सामुदायिक विद्यालयको जिम्मा दिने भनेपछि उनको उक्त कुराको आलोचना भएको थियो।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले उक्त आलोचनाको बचाउ गरे। उनले यसमा बुझाइमा ग्याप भएको बताए।
बजेटमा उल्लेख भएको कुरा आफूले बुझाउन नसकेको भन्दै डा खतिवडाले निजी विद्यालयले राज्यको दायित्व अनुसार १ प्रतिशत दिने रकम नजिकैको सामुदायिक विद्यालयमा लगानी गर्ने भनेको स्पष्ट पारेका छन्।
‘निजी विद्यालयले तिर्ने एक प्रतिशत नजिकैको सामुदायिक विद्यालयमा खर्च गर्ने भनेको हो,’ उनले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि पूर्वाधारमा लगानी गर्ने उद्देश्य यसका लागि राखिएको हो।’
निजी विद्यालयलाई सामुदायिक विद्यालय हस्तान्तरण गर्ने पक्षमा पनि होइन भन्दै उनले बुझाइमा समस्या भएको बताए। ‘माध्यमिक शिक्षा विस्तारै नि:शुल्क गर्ने हो, यो राज्यको दायित्व हो,’ उनले भने, ‘निजी विद्यालय सञ्चालकले एक प्रतिशत स्रोत सररकालाई दिने र उहाँहरुले कुनै विद्यालय माग गरेकाले यस्तो व्यवस्था बजेटमा राखिएको हो।’
निजी विद्यालयले दिने १ प्रतिशत रकम सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दा गुणस्तर वृद्धिमै सहयोगी हुने उनले जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।