एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनका बीचमा सिमामा जारी रहेको तनावलाई लिएर फेरि एक पटक मध्यस्थता गर्ने प्रस्ताव पेश गरेका छन्।
ट्रम्पले यसअघि पनि यस्तो प्रस्ताव राखेका थिए। तर भारतले चीनसँग सम्पर्कमै रहेको जवाफ दिएको थियो।
‘यदि उनीहरूका लागि म केही सहयोग गर्न सक्छु भने म मध्यस्थताका लागि तयार छु’ ट्रम्पले भने‚ ‘मैले चीनसँगको विवादका बारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी समेत गरेको छु।’ उनले दुई देशका बीचमा बढिरहेको तनावका कारण प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठिक नभएको दाबी गरे।
ट्रम्पले यो विवादका कारण भारत र चीन दुवै देश खुसी नभएको बताए। उनले पुनः एकपटक मध्यस्थता गर्न तयार रहेको कुरा पत्रकार सम्मलेनमा भनेका थिए। उनले भारत र चीनका बीचमा गहिरो टकरावको अवस्था रहेको दाबी पनि गरे।
एक भारतीय पत्रकारको प्रश्नमा उनले भने‚ ‘भारत र चीनका बीचमा ठूलो टकराव छ। दुवै देशमा विशाल जनसंख्या र सैनिक छन्।’ ट्रम्पले बुधबार टुइटरमा पनि आफू दुईका बीचमा जारी रहेको विवादमा मध्यस्थकर्ता हुन तयार रहेको पनि उल्लेख गरेका छन्। उनले दुवै देशका बीचमा जारी तनाव आफूले समाधान गर्न सक्ने दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।