लहान– जबर्जस्ती करणी तथा यौनजन्य हिंसाका घटना नियन्त्रण गर्न सिरहा प्रहरीले विद्यालयमा कक्षा सञ्चालन गर्ने भएको छ। पछिल्लो समय सिरहा, सप्तरी लगायत तराईका जिल्लामा यौनजन्य हिंसाका घटना बढेपछि प्रहरीले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
जिल्ला प्रहरी कार्यालयले तयार गरेको ‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो। विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी कक्षा सञ्चालनको तयारी गरिएको प्रहरीले जनाएको छ। कक्षा सञ्चालनका लागि महिला तथा बालबालिका सेवा केन्द्र र प्रहरी कार्यालयले पाठ्यक्रम तयार पारेका छन्।
यसैगरी, ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा प्रशिक्षण, सर्वसाधारणसँग अन्तरक्रिया, प्रचारप्रसार र ठाउँठाउँमा माइकिङ गर्ने कार्यक्रम राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन भेटवालले जानकारी दिए। अभियानकै रुपमा सुरु गरिएका यस्ता कार्यक्रम विभिन्न रुपमा तीन महिनासम्म सञ्चालन गरिने उनको भनाइ छ।
जबरजस्ती करणी लगायत यौनजन्य हिंसाविरुद्ध नारासहित तुल र पम्प्लेट लिएर पदयात्रा गर्नेदेखि सडक नाटक प्रदर्शनसम्मका कार्यक्रम पनि अभियानमा समावेश गरिएको छ। यी कार्यक्रममा नगर र गाउँपालिकाका जनप्रतिनिधिहरु पनि समावेश हुनेछन्।
सिरहामा चालू आर्थिक वर्षमा मात्रै ४६ करणी र करणी उद्योगका घटना प्रहरी कार्यालयमा दर्ता छन्। हरेक वर्ष यो दर बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन्।
अशिक्षा, सामाजिक सञ्जालको दुरुपयोग, लागुऔषध दुर्वयसन, पीडितलाई आर्थिक प्रलोभन, खुला सिमाना, वैदेशिक रोजगारी लगायत कारण जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरी नायब उपरीक्षक भेटवालको भनाइ छ।
घटना भइसकेपछि पनि ढाकछोप गर्ने, आर्थिक प्रलोभनमा परेर मिलापत्र गर्ने, राजनितिक दबाब सिर्जना गर्ने र कानुनी बाटो नखोज्दा घट्ना बढ्ने गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।