सिन्धुली– नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्।
चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको शव स्टेसनको ट्रान्सफर्मरमा क्षति पुगेको थियो। हालसम्म ट्रान्सफर्मर जडान हुन नसक्दा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्।
शव स्टेशनमा रहेको १५ सय केभिएको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि धेरै ग्राहकलाई सहजताका साथ विद्युत् उपलब्ध गराउन नसकिएको प्राधिकरण सिन्धुली शाखाका प्रमुख लिलानाथ अर्यालले बताए।
उक्त ट्रान्सफर्मरबाट सिन्धुलीको मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाका केही स्थानमा विद्युत् वितरण हुने गरेको थियो। ट्रान्सफर्मर जलेका कारण अहिले उक्त क्षेत्रमा विद्युत् उपलब्ध गराउन नसकिएको र छिट्टै विद्युत् उपलब्ध गराउनेतर्फ भने आफूहरू काममा निरन्तर लागि परेको उनले बताए।
सो ट्रान्सफर्मर जडान गर्न अझै केही दिन लाग्ने भएकाले अबको दुई हप्तासम्म सहजताका साथ विद्युत् उपलब्ध नहुने पनि उनले जानकारी दिए।
यता दुई दिनदेखि विद्युत्सेवा अवरुद्ध भएपछि मोबाइल तथा फोन चार्ज गर्न नपाउँदा सञ्चार सुविधाबाट समेत वञ्चित हुन परेको सो क्षेत्रका उपभोक्ताको गुनासो छ। सञ्चार सुविधाबाट वञ्चितसँगै कुटानी तथा पिसानीका मिल सञ्चालन नहुँदा नागरिक प्रत्यक्ष मारमा परेका छन्।
विगत तीन दिनदेखि विद्युत् नआउँदा पनि प्राधिकरणले ट्रान्सफर्मर जडान तथा विद्युत् वितरणमा ध्यान नदिएको उपभोक्ताले आरोप लगाएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।