एजेन्सी- विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय गरेको छ।
डब्लुएचओका निर्देशक डा टेड्रोस एडहानम गेब्रियेसुसले सोमबार यो औषधीको सुरक्षित प्रयोगका बारेमा डेटा सेफ्टी मनिटरिङ बोर्डले अध्ययन गर्ने बताए। उनले यो औषधीको विश्वभर भइरहेको प्रयोगको विश्लेषण पनि गरिने बताएको छ। टेड्रोसले हाइड्रोक्सिक्लोरिक्वीन र क्लोरोविक्वनको प्रयोग मलेरियाका रोगी र लुपतजस्ता रोगमा प्रयोग गरिँदै आएको बताए।
उनले यो औषधी कोरोना भाइरसका बिरामीमा प्रयोगबारे सुरक्षितबारे चिन्तित भएको बताए। उनले साइन्स जर्नल ल्यासेटमा छापिएको एक अध्ययनलाई देखाउँदै यो अध्ययनअनुसार कोरोना भाइरसको संक्रमितमा जहाँ यो औषधी प्रयोग भएको छ त्यहाँ मृत्युको धेरै खतरा भएको उल्लेख गरे।
यो अध्ययन सार्वजनिक भएलगत्तै डब्लुएचओको निगरानीमा भइरहेको क्लिनिकल ट्रायल गुप्रको बैठक बसेको थियो। १० सदस्य देशका प्रतिनिधि भएको यो समूहको बैठकपछि यो औषधीसँग जोडिएको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ। उनीहरुले जहाँ जहाँ यसको प्रयोग भएको छ त्यहाँको तथ्यांक विश्लेषण गर्ने निर्णय गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार यो औषधी प्रयोगका लागि उक्साइरहेका छन्। उनले सार्वजनिक रुपमै कोरोना भाइरससँग बच्न यो औषधीको प्रयोग गर्न सुझाव दिँदै आएका छन्। अहिलेसम्म यो औषधि कोरोना भाइरसको उपचारका लागि प्रभावकारी भएको ठोस प्रमाण प्राप्त भएको छैन। मार्चमा भारतले यो औषधिको निर्यातमा रोक लगाएको थियो। ट्रम्पको दबाबपछि पुनः भारतले यसलाई आशिंक रुपमा खुल्ला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।