काठमाडौं– २०७४ सालभरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा राजधानीमा दीप प्रज्ज्वलन गरिएको छ।
‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धाञ्जलि प्रकट गरिएको थियो।
नेपाल शाकाहारी संघलगायत प्राणी कल्याणसम्बन्धी संस्थाको प्रयासमा काठमाडौंको रानीपोखरीस्थित सोह्रहाते गणेशअघि शुक्रबार आयोजित सो कार्यक्रममा श्रद्धाञ्जलिको व्यहोरा सबैले वाचन गरेका थिए।
४ वर्षदेखि आयोजना गरिँदै आएको सो कार्यक्रमका सहभागी तथा शाकाहारी अभियन्ता विकेश श्रेष्ठले संसार सबैको साझा घर भएको र आजको विश्वमा प्राणीमाथिको हिंसा रोकिनुपर्ने बताए।
कार्यक्रममा सञ्चारकर्मी रीता लिम्बुले भनिन्,‘ढुंगे युग सकिएकाले अब हिंसा बिना बाँच्न सकिन्छ। मानव जातिले सबै प्राणीमाथि गरेको हिंसाका लागि हामी लज्जित छौं। सोही कारण सबै प्राणीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न हामी उपस्थित भएका हौँ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।