काठमाडौं- देशभर किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भूसालले आइतबार सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरुसँग आइतबार भर्चुएल बैठक गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार निर्माणको काम सुरु गर्ने सहमति गरेका हुन्।
सहमतिअनुसार सबैै स्थानीय तहमा कृषि सेल निर्माण सुरु गरिने भएको छ। ‘हरेक स्थानीय सरकारसँग आफ्नो छुट्टै संकलन विधि, भण्डारण गृह र वितरण प्रणाली हुने व्यवस्था शुरु नगरे कृषि क्षेत्र बचाउन सकिँदैन,’ मन्त्री भूसालको प्रस्ताव थियो। ती स्थानीय सेललाई प्रदेश र संघीय सरकारले जोडेर किसानको वैकल्पिक बजारको राष्ट्रिय नेटवर्क बनाइनेछ।
यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेट केन्द्रीत गर्ने सहमतिसमेत भएको छ। मन्त्री भूसालले संघीय सरकारले किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्नेगरी बजेट ल्याउने जानकारी दिंदै प्रदेश सरकारहरूलाई पनि त्यहीअनुसार बजेट ल्याउन आग्रह गरेका छन्।
प्रदेशका मन्त्रीहरुले पनि किसानले उत्पादन गरेको उपज बजारसम्म नपुग्ने तर, बजारमा भने अन्य मुलुकबाट उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न किसानको राष्ट्रिय बजार निर्माण गर्ने प्रस्तावमा सहमति जनाएका छन्। ‘एउटा प्रदेशबाट अर्को प्रदेश र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहसम्म किसानले उत्पादन गरेको उपज पुग्न सकिरहेको छैन‘ मन्त्री भूसालले भने, ‘किसानको राष्ट्रिय बजार निर्माणले अहिलेको अस्तव्यस्तताको अन्त्य हुनेछ।’
कृषि क्षेत्रको पुनर्संरचनाका लागि मन्त्रालयले अगाडि बढाएको ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रमको एक महत्वपूर्ण काम किसानको आफ्नै राष्ट्रिय बजार निर्माण भएको मन्त्री भुसाले बताएका छन्। प्रदेश मन्त्रीहरुले भने अहिले नै केही स्थानीय सरकारले त्यो अभ्यास सुरु गरिसकेको जानकारी गराएका थिए।
कोभिड–१९ महामारीका कारण कृषि क्षेत्रमा सबैभन्दा बढी चुनौती देखिएको संघ र प्रदेशका मन्त्रीहरुले निष्कर्ष निकालेका छन्।
महामारीकै कारण देशमा थपिन सक्ने बेरोजगारलाई कृषि क्षेत्रमा सामेल गराउन थप बजेट समेत माग गरिएको मन्त्री भूसालले जानकारी दिएका थिए। ‘कृषि क्षेत्रमा जान चाहनेलाई सस्तो ब्याजमा ऋण दिलाउन थप बजेट मागिएको छ। त्यो थपिएको बजेटले बेरोजगारलाई रोजगार र कृषि क्षेत्रमा उत्पादन बढाउनेछ,’ मन्त्री भूसालले भने।
महामारीकै कारण कतिपय ठाउँहरुमा मल तथा बिऊ पुग्न नसकिरहेकाले अन्तरमन्त्रालय समन्वय गरी तत्काल यो समस्या हल गर्न प्रदेशका मन्त्रीहरुले आग्रह गरेका थिए। प्रदेश–१ र २ मा उत्पादित कृषि उपज महामारीकै कारण भारततर्फ निकासी गर्न नसकिएकोबारे पनि छलफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।