एजेन्सी- कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरियामा अहिले फेरि दिन प्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन्। स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लब, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ। दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट ११ हजार १६५ जना सङ्क्रमित भएका छन् भने २ सय ६६ जनाको मृत्यु भएको छ।
अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन्। त्यस क्षेत्रमा थप कडाई गरिएको छ। पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना सङ्क्रमित भेटिएका छन्। पहिचान गर्ने र परीक्षण गर्ने क्रम पनि तीव्र पारिएको जनाइएको छ।
दक्षिण कोरियामा सङ्क्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ। तर यता चीनमा भने आहिले एक जना पनि कोरोना भाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका छन्। दुई जना भने शंकास्पद देखिएका छन्।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ बिरामी नभेटिए पनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको छ। चीनमा अहिलेसम्म ८२ हजार ९ सय ७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६ सय ३४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।