पोर्ट मोर्सबी, पपुवा न्यूगिनी- पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्वदेश फर्किए लगत्तै उनी पक्राउ परेका हुन्। उनले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानबिनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
'घटनामा उहाँले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको भन्ने तथ्यगत आधारहरू पेश भएका छन् । उहाँलाई छानविनका लागि पक्राउ गरिएको हो,' एटेले भने।
पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गरेका छन्।
ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। उनलाई दुई हप्ता क्वारेन्टिनमा बस्न घर जानका लागि शनिबार नै रिहा गरिने बताए।
लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिल आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट बिदा लिएका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।