एजेन्सी- पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका कम्तीमा पनि ६६ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। पाकिस्तानी समाचार संस्था डाउनका अनुसार हालसम्म ६६ जनाको मात्र मृत्यु पुष्टि भएको र थप विवरण आउने क्रममा छ। दुर्घटनामा परेको विमानमा रहेका ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल ९९ जना रहेका थिए।
विमान खस्दा बस्तीमा खसेकाले कम्तीमा पनि ५, ६ घर ध्वस्त भएका छन्। कराचीका मेयर वासिम अख्तरका अनुसार क्षति भएका घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले जानकारी दिए। विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगावै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
विमान खसेको ठाउँमा बाक्लो बस्ती छ। मोडेल कोलोनीका नाममा रहेको सो बस्तीमा विशेष गरी गरीब समुदायका मानिसहरु बस्ने गर्दथे। प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नुअघि तीन पटक घुमेको थियो। विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताएका छन्। घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।
स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन्। पाकिस्तानमा कोरोना भाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो।
हेरौं तस्बिरमा दुर्घटना भएको विमान
सबै तस्बिर : एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।