काठमाडौं- संसदको अर्थ समितिले बजेटका स्थापित मान्यता एवं संवैधानिक निकायको सुझावविपरीत आगामी आर्थिक वर्षको बजेट तयार गर्न सुझाव दिएको छ। समितिले ठूलो आकारको बजेट बनाउन तथा आन्तरिक ऋण पनि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सुझावभन्दा धेरै लिन अर्थ मन्त्रालयलाई सुझाव दिएको हो।
अर्थ समितिले कूल गार्हस्थ्य उत्पादनको आन्तरिक ऋण ६ प्रतिशतसम्म उठाउन सरकारलाई सुझाव दिएको छ। राष्ट्रिय प्राकृतिक स्रो तथा वित्त आयोगले ५.५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन सुझाव दिएकोमा समितिले थप ०.५ प्रतिशत बिन्दूले धेरै आन्तरिक ऋण उठाउन सुझाव दिएको हो।
सरकारले यसअघि ५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउने गरेको थियो। कूल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत आन्तरिक ऋण उठाउँदा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सरकारले सक्छ। केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको अन्त्यमा कूल गार्हस्थ्य उत्पादनको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको थियो।
समितिले कूल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशतसम्म हुने गरी बजेटको आकार बनाउन पनि सुझाव दिएको छ। समितिको सुझावअनुसार अघि बढ्ने हो भने १६ खर्ब ९३ अर्ब रुपैयाँको बजेट निर्माण गर्नुपर्ने हुन्छ। अहिलेको उपलब्ध स्रोतको विश्लेषण गर्दा सरकार ठूलो बजेट ल्याउने अवस्थामा छैन। तर समितिले भने उच्च आकारको बजेट ल्याउन सुझाव दिएको हो।
यसअघि आर्थिक वर्ष २०७२/०७३ मा २२ खर्ब ५३ अर्ब रुपैयाँको कूल गार्हस्थ्य उत्पादन हुँदा तत्कालीन सरकारले १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। त्यतिबेला सरकारले ल्याएको बजेटको निकै आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।