इलाम- नेपाल पत्रकार महासंघ इलामले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन्।
पत्रकार ढकाललाई प्रदेश सांसद राम रानाले आज यहाँ आयोजित कार्यक्रममा नगद रु १० हजार र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरे।
इलामका स्वर्गीय पत्रकार आशिष राईको स्मृतिमा महासंघ इलामले हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गर्छ। रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आएका राईको २०५९ बैसाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो।
उनकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्दै आएको छ।
यसअघि सो पुरस्कारबाट रासस इलामका समाचारदाता गोविन्दप्रसाद लामिछाने, राजधानी दैनिककी कोकिला ढकाल, राजु शिवा, भीम चापागाई, बेनुप भट्टराई, तोयानाथ भट्टराई, झापाका मोहन काजी, रमेश समदर्शी, पाँचथकार गणेश साङ्पाङ, अन्नपूर्ण पोष्टकी सीता निरौला र ताप्लेजुङका आनन्द गौतम पुरस्कृत भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।