काठमाडौं- बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा सोमबार एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भयो। आइसोलेसन बेडको अभावमा संक्रमितहरुले रातभर त्यही क्वारेन्टाइनमा संक्रमण नभएकाहरूसँगै रात बिताए।
यही क्वारेन्टाइनमा बसेका २५ वर्षीया युवाको कोरोनाका कारण मृत्यु भएको थियो। एम्बुलेन्स चालकले पिपिई नभएको भन्दै राति अस्पताल लैजान नमानेपछि ती युवालाई बिहानमात्र अस्पताल लगियो। तर अस्पताल पुगेपछि उनले ज्यान गुमाए।
०००
पर्सामा वैशाख ३१ गते एकै दिन ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो। संक्रमितमध्ये केहीलाई साँझसम्म अस्पताल लगियो भने केहीलाई लगिएन। नारायणी अस्पतालमा आइसोलेसन बेड अभाव भएका कारण केही संक्रमितलाई भोलिपल्ट मात्र अस्पताल लगिएको थियो। परिवारमा सँगै बसेकाहरूलाई ४ दिनसम्म पनि सोधपुछ समेत कसैले गरेन।
०००
कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा भारतबाट छिरेका ३ सय जना छन्। सीमापारि भारत सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा १० दिन बिताएर फर्केका र भारतबाट आएकाहरुलाई परीक्षण गर्दै यहाँ रोकिएको छ। क्याम्पसको १० कोठा रहेको क्वारेनटाइनमा उनीहरुलाई अटाइएको छ। यसरी क्वारेनटाइनमा बसेका कतिपयको त परीक्षण पनि भएको छैन। परीक्षण गरिएका र नगरिएका एकै स्थानमा खाँदिएर बस्दा कोरोना सर्ने उच्च जोखिम देखिएको छ। न राम्रोसँग सुत्ने ठाउँ छ, न त खाने व्यवस्था नै।
०००
भारतबाट आएकाहरुका लागि धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइन सञ्चालनमा छ। उक्त क्वारेनटाइनमा पनि करिब १०० जना रहेका छन्। त्यहाँ पनि सामाजिक दूरी, परीक्षण र अरु मापदण्डको कुनै व्यवस्था छैन।
०००
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२, तामनगरस्थित कोरिया–नेपाल टेक्निकल इन्स्टिच्युटको क्वारेन्टाइनमा मंगलबारसम्म १ सय १३ जना छन्। त्यहाँ एक जनस्वास्थ्य निरीक्षक खटिएका छन्। त्यहाा शौचालयका लागि बिहान कम्तीमा डेढ घन्टा लाम लाग्नुपर्छ। पानीको धारा एउटा मात्र छ।
०००
कपिलवस्तुको यशोधरा गाउँपालिका–८ स्थित क्वारेन्टाइनबाट केही दिन अघि ४६ जना भागेका थिए। क्वारेनटाइनबाट मानिसहरु भागेको सार्वजनिक भएपछि गाउँ नै त्रासमा परेको थियो। फेरि उनीहरुलाई स्थानीय प्रशासनले फिर्ता गरेर क्वारेनटाइनमा ल्याएको छ। उनीहरुको गुनासो थियो- सुत्ने ठाउँ छैन, लामखुट्टेले टोकेर बस्न सकिएन।
देशमा कोरोना संक्रमितलाई राख्ने क्वारेन्टाइनको ताजा अवस्था हो यो।
नेपालमा हाल ५७ हजार ९ सय ४ जनालाई राख्न सकिने क्वारेन्टाइन शय्या छन्। तर तीमध्ये ३० हजार शय्या मात्र गुणस्तरका छन्। अन्य शय्याको अवस्था कमजोर भएको र सुधार गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले स्वीकार गरेका छन्।
मंगलबारसंसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘क्वारेन्टाइन ५७ हजार ९ सय ४ सिट क्षमताका बनेका छन्। ती स्थानमा मानिसहरु नराखिएको हुँदा पर्याप्त गुणस्तर नभएको देखिन्छ। त्यसमा ३० हजार अलि गुणस्तरीय छन्। ती क्वारेन्टाइनमा पनि ठूलो संख्यामा मानिसलाई राखिएको छैन। त्यस कारण हामीले अहिलेको अवस्था सुधार गर्नुपर्ने देखिन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन्।
कोरोना भाइरसको संक्रमण सुरु भएसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले क्वारेन्टाइन स्थल बनाएका थिए। विदेशबाट फर्कने मानिसलाई राख्नका लागि र भारतसँग सीमा जोडिएका जिल्लाबाट रोजगारीका लागि भारत गएकाहरू फर्किने क्रम बढेसँगै सीमा नाकाका अधिकांश जिल्लामा क्वारेन्टाइन स्थल निर्माण भएका थिए।
यसरी निर्माण हुने क्वारेनटाइनका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले पनि मापदण्ड तोकेको छ। तर यी क्वारेन्टाइन स्थलमा मापदण्ड नपुगेको मात्र होइन, गम्भीर लापरबाही समेत हुने गरेको पाइन्छ।
बाँकेको नरैनापुरको क्वारेन्टाइनमा रहेका युवकले अस्पताल जान नपाएर ज्यान गुमाएपछि क्वारेनटाइनहरुको अवस्था उदाङ्गो भएको छ। यो घटनाले हाल सञ्चालनमा रहेका क्वारेनटाइन झन् जोखिमयुक्त रहेको संकेत दिएको छ।
अधिकांश ठाउँमा विद्यालय र सामुदायिक भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको छ, जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, सध्दे मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाउने खतरा देखिएकोे छ।
कुन प्रदेशमा कति क्वारेनटाइन?
सातै प्रदेशमा कोरोना भाइरसको जोखिम फैलिइसकेको छ। सातै प्रदेशमा गरी ४ सयभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन्। हालसम्म प्रदेश २ र प्रदेश ५ सबैभन्दा धेरै जोखिममा देखिएका छन्। यहाँ सयभन्दा माथि कोरोना संक्रमित रहेका छन्। प्रदेश ३ र प्रदेश ५ मा एक एक जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।
प्रदेश १
प्रदेश १ मा हालसम्म ५४ जना संक्रमित पुगेका छन् भने १७ जना उपचारपछि निको भएका छन्। १४ जिल्ला रहेको प्रदेश एकमा उदयपुर कोरोनाको हटस्पटको रुपमा रहेको छ। ताप्लेजुङदेखि ओखलढुङ्गासम्म फैलिएको यो प्रदेशमा झापा, मोरङ र सुनसरीमा संक्रमितहरु फेला परेका छन्।
यी जिल्ला भारतसँग सीमा जोडिएका कारण संक्रमितहरु फेला परेका छन्। यो प्रदेशमा १ हजार १ सय ७८ क्वारेनटाइन रहेका छन्। अधिकांश स्थानीय तहले क्वारेनटाइन बनाएको दावी गरे पनि उनीहरुको मापदण्ड अनुसार नरहेको सामाजिक विकास मन्त्रालयका अधिकारीहरु नै स्वीकार गर्छन्।
प्रदेश २
कोरोना भाइरसको जोखिम रहेकामध्ये प्रदेश २ पहिलो नम्बरमा रहेको छ। प्रदेश २ का ८ जिल्ला कोरोना संक्रमण अधिकांश जिल्लामा फैलिएको छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटसँग भारतको खुला सीमा जोडिएको छ। खुला सीमा जोडिएका कारण यी जिल्लाहरु धेरै जोखिमा रहेका छन्।
प्रदेश २ मा ३ हजार ४ सय ८१ क्वारेनटाइन रहेका छन्। हाल ३ हजार ९ सय ८४ जना क्वारेनटाइनमा रहेका छन् भने होम क्वारेनटाइनमा ४ हजार ९ सय ८७ जना रहेको सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताए। हालसम्म उक्त प्रदेशमा १३५ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
प्रदेश–२ मा कोरोना संक्रमितका परिवार, उनको सम्पर्कमा आएका व्यक्ति र शंकास्पदलाई राख्न २ सय १४ स्थानमा ६ हजार ७२ जना राख्न मिल्ने क्वारेन्टाइन रहेको सामाजिक विकास मन्त्रालयको दावी छ। प्रदेश सरकार, स्थानीय तह र वडा कार्यालयहरूले बनाएका क्वारेन्टाइनमा भने आधारभूत सुविधासमेत नहुँदा त्यहाँ बस्नेहरूले हारगुहार गर्नुपर्ने बाध्यता छ। क्वारेन्टाइनमा बस्नेका लागि खाना, बस्न र शौचालयको समेत समस्या छ।
बागमती प्रदेश
कोरोना भाइरसका कारण पहिलो ज्यान गुमाउने बिरामी यही प्रदेशका हुन्। सिन्धुपाल्चोक बाह्रबीसेकी सुत्करीले गत शनिबार धुलिखेल अस्पतालमा ज्यान गुमाइन्।
बागमती प्रदेशमा ३ हजार २२ वटा क्वारेनटाइन रहेका छन्। यी प्रायःजसो क्वारेन्टाइनमा मापदण्ड अनुसारका सुविधा छैनन्। मकवानपुरको हेटौंडा उपमहानगर, थाहा नगर, भीमफेदी र मनहरी गापामा गरेर २ सय १८ जना अट्ने क्वारेन्टाइन बनाइएका छन्। चितवनका ७ वटै स्थानीय तहमा २ सय ९१ जना क्षमताको क्वारेन्टाइन छ।
सिन्धुपाल्चोकका अधिकांश क्वारेन्टाइन मापदण्ड अनुसारका छैनन्। एउटा कोठामा दुई वटा खाट भए पनि तन्ना पनि फोहोर छ। शौचालय व्यवस्थित छैनन्। क्वारेन्टाइनमा कुनै मेडिकल सामग्री, स्वास्थ्यकर्मी छैनन्।
बागमतीमा उपत्यका बाहेक १० जिल्लामा ३ हजार २ सय १८ जना अट्ने क्वारेन्टाइन अधिकांश मापदण्ड अनुरूप नरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले स्वीकार गरे। यो प्रदेशमा हालसम्म कोरोना भाइरसका सबैभन्दा धेरै बिरामी काठमाडौंमा रहेका छन्। यो प्रदेशमा २६ संक्रमित र १ को मृत्यु भएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा हालसम्म तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना उपचारपछि घर फर्केका छन्। कर्णाली प्रदेशपछि कम प्रभावित भएको प्रदेशमा गण्डकी पनि पर्छ। गण्डकी प्रदेशले पिसिआर र ¥यापिट टेस्टमार्फत परीक्षण गरिरहेको र संक्रमणको जोखिममा रहेकाहरुको खोजी गर्ने कार्य गरिरहेको समाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताइन्।
गण्डकी प्रदेशमा ३ सय ५९ वटा क्वारेनटाइन निर्माण भएका छन्। ११ जिल्ला रहेको उक्त प्रदेशमा भारतसँग सीमा जोडिएका जिल्ला नहुँदा र विदेशबाट आउने व्यक्तिलाई समयमै क्वारेनटाइनमा राख्ने लगायतका कार्य गरेकाले संक्रमण हालसम्म नफैलिएको मन्त्री मगरले दावी गरिन्।
गण्डकी प्रदेशका अधिकांश क्वारेन्टाइन कामचलाउ मात्र छन्। खान र बस्न केही राम्रो भए पनि सरसफाइ लगायतमा कमजोर छन्। विद्यालय, सामुदायिक र केही सरकारी भवनमा क्वारेन्टाइनस्थल बनाइएको छ।
प्रदेशभरि २ सय ४३ संख्यामा ४ हजार ५ सय ७८ बेडका क्वारेन्टाइन छन्। तिनमा विदेश तथा अर्को जिल्लाबाट आएका ४ सय हाराहारीमा बसिरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सबैभन्दा बढी लमजुङमा ९ सय ९०, पूर्वी नवलपरासीमा ८ सय ७२ बेड बनाइएका छन्। प्रदेशकी सामाजिक विकासमन्त्री पुन मगरले नेपाली सेना र स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनको जिम्मा दिइएको बताइन्।
प्रदेश ५
कोरोना भाइरसको जोखिममा रहेको अर्को प्रदेश हो प्रदेश ५। भारतसँग सीमा जोडिएका जिल्ला धेरै भएकाले यो प्रदेशमा धेरै संक्रमित छन्। प्रदेश ५ मा हालसम्म १ जनाले ज्यान गुमाएका छन्।
बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ र गुल्मीमा कोरोना भाइरसका संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ मा सोमबारसम्म ७ सय १० क्वारेन्टाइनमा १४ हजार २ सय ८१ जना रहेका छन्। तीमध्ये रूपन्देहीका ५९ क्वारेन्टाइनमा ३ हजार १ सय ४४, कपिलवस्तुका १ सय ८५ क्वारेन्टाइनमा ७ हजार ४ सय ५६ र बाँकेका ९ वटा क्वारेन्टाइनमा १ हजार १ सय ९१ जना छन्। प्रदेशले राहत, क्वारेन्टाइन व्यवस्थापनका लागि १३ करोड ६० लाख रुपैयाँ प्रदेशका १ सय ९ स्थानीय तहलाई उपलब्ध गराएको थियो।
अस्तव्यस्त सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका अधिकांश क्वारेन्टाइनमा स्वास्थ्यकर्मी मात्रै होइन, मापदण्ड अनुसारका न्यूनतम सुविधा पनि उपलब्ध छैन।
बझाङमा वैशाख १७ देखि क्वारेन्टाइनमा बसेका व्यक्तिले १५ दिनपछि जेठ १ गते मात्र स्वास्थ्यकर्मी भेटेको सार्वजनिक भएपछि प्रदेशले तत्काल स्वास्थ्यकर्मी राख्न निर्देशन नै दिनुपरेको थियो। सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ३६ जना क्वारेनटाइनमा रहेका छन्।
क्वारेन्टाइनमा पानी, बिजुली, शौचालय र सरसफाइको व्यवस्था पनि पर्याप्त छैन। विद्यालयको एउटै कोठामा १० जनासम्म भुइँमै सुत्ने गरेका छन्। अछामका कतिपय ठाउँमा क्वारेन्टाइनमा बसेकाको परीक्षण समेत हुन नसकेको सामाजिक विकास मन्त्रालयले स्वीकार गरेको छ।
अछामको ढकारी, तुर्माखाद र रामारोशन गाउँपालिकामा क्वारेन्टाइनमा बसेका १ सय ५० जनालाई परीक्षण नगरेरै घर पठाइएको थियो। किट अभाव भएपछि १४ दिन क्वारेन्टाइन पूरा गरेर बिनापरीक्षण घर पठाइएको थियो। कञ्चनपुरका क्वारेन्टाइनमा बेड रित्ता छन्। नेपाल–भारत सीमा क्षेत्रको दसगजामा पुगेका ६३ जना नेपालीलाई परीक्षणका लागि स्वाब संकलन गरेर विद्यालयमा राखिएको थियो।
महाकाली नगरपालिका–३ जमुनाघाडीमा पुगेका ३६ जनालाई नजिकैको जमुना प्रावि र भीमदत्त नगरपालिका–९ मटेनामा पुगेका २७ जनालाई महेन्द्रनगरस्थित वैजनाथ माविमा राखिएको थियो।
कञ्चनपुरका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा साढे ५ सय बेड छन्। तर उनीहरुलाई पनि विद्यालयमै राखिने गरिएको छ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश हालसम्मको कम प्रभावित प्रदेश हो। कर्णालीमा एक जना मात्र संक्रमित फेला परेका छन्। कर्णाली प्रदेशको क्वारेन्टाइनमा ६ हजार ८ सय ४७ जना रहेका छन्। यसरी क्वारेनटाइनमा रहने अधिकांश भारतबाट रोजगारी गरी फर्केका व्यक्ति छन्। दस जिल्ला रहेको कर्णाली प्रदेशमा क्वारेनटाइनमा १ हजार ५ सय ५३ जना रहेका छन्। संक्रमितको संख्या १ छ।
मापदण्ड अनुकूल छैनन् : मानव अधिकार आयोग
क्वारेन्टाइनको बारेमा सार्वजनिक प्रश्न उठेपछि राष्ट्रिय मानव अधिकार आयोगले केही स्थलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा क्वारेन्टाइनहरुमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाह जस्ता मापदण्ड पूरा हुन नसकेको पाइएको थियो।
आयोगको अनुगमनमा क्वारेन्टाइनमा व्यक्तिका आधारभूत मानव अधिकार संकुचनमा परेको, व्यवस्थित हुन नसक्दा सम्भावित संक्रमितहरु क्वारेन्टाइनमा बस्न नचाहने र बसिरहेकाहरु पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा संक्रामक रोग अझ बढी फैलिने अवस्था रहेको पाइएको थियो।
अनुगमनपछि आयोगले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न निर्देशन पनि दिएको थियो।
आयोगले प्रत्येक स्वास्थ्य उपचार केन्द्र तथा अस्पतालहरुलाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रुपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्दै संक्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न समेत निर्देशन दिएको थियो।
डब्लुएचओको न्यूनतम मापदण्ड यसो भन्छ
विश्व स्वास्थ संगठनको क्वारेन्टाइन व्यवस्थापन मापदण्ड अनुसार क्वारेन्टाइनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायहरुको कार्यान्वयन गर्नुपर्ने हुन्छ।
त्यस्तै क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहोरदोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिहरु बीचमा समेत शारीरिक दूरी कायम हुनुपर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई बाहिर रहेका परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलव्ध गराउनुपर्ने र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्ने लगायतका व्यवस्था हुनुपर्छ।
के हो क्वारेन्टाइन र कस्तो हुनुपर्छ?
कुनै पनि रोगका शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ। कोरोनाको हकमा १४ देखि १७ दिनसम्म शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिन्छ।
कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले क्वारेन्टाइनलाई यसरी व्याख्या गरेको छः
क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आकलन गरी उक्त संक्रमित इलावा वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउँछ।
सरकारको यही मापदण्ड अनुसार क्वारेन्टाइनमा हुनुपर्ने विभिन्न सेवा तथा व्यवस्थाहरु उल्लेख गरिएका छन्। जस्तैः
- विशेषगरी सम्भव भएसम्म शौचालय सहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको
- विद्युत, पानी लगायतका आधारभूत सेवाको उपलब्धतता
- कोठाको व्यवस्थापन (प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने)। ओढ्ने, ओछ्याउने र आवश्यकता अनुसार झुल सहितको खाट।
- क्वारेन्टाइन स्थलमा स्वास्थ्य सामग्री सहितको प्रतिसय जनाका लागि मेडिकल अधिकृत एक जना, स्वास्थ्य परिचारिक एक, प्यारामेडिक एक, ल्याब टेक्निसियन (आवश्यकता अनुसार) हुनुपर्ने। जसमा २४ सै घन्टा एम्बुलेन्स पनि व्यवस्था गनुपर्ने मापदण्डमा उल्लेख छ।
यो सहित अन्य धेरै व्यवस्थाहरु यस मापदण्डमा उल्लेख गरिएका छन्। तर नेपालमा हाल व्यवस्था गरिएको अधिकांश क्वारेन्टाइन स्थलमा यी सबै कुराहरु देख्न पाइँदैन। मात्र यो मापदण्डमा पढ्न पाइन्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी नेपालमा व्यवस्था गरिएका अधिकांश क्वारेन्टाइन मापदण्ड अनुसार नभएको बताउँछन्। क्वारेन्टाइनको सुविधा अस्पतालको जस्तै हुनुपर्नेमा त्यसो नभएको उनले बताए।
उनले भने, ‘क्वारेन्टाइन भनेको अस्पताल जस्तै हुनुपर्छ। त्यहाँ रहेका शंकास्पद व्यक्तिको हरेक दिन स्वास्थ्य परीक्षण गर्ने, कुनै समस्या या लक्षण देखिए अस्पतालमा रिफर गर्ने व्यवस्था हुनुपर्छ। तर यहाँ त क्वारेन्टाइन भनेको त जबरजस्ती एउटै कोठामा काचकुच गरेर राख्ने गरिएको छ। अपराधीलाई जस्तो गरी थुनेर राखिएको छ।’
क्वारेन्टाइन भद्रगोल र मापदण्ड अनुसार नहुँदा कोरोना सहित अन्य संक्रमणको जोखिम अत्यधिक हुने उनले बताए। सरकारले होटल तथा विभिन्न घर भाडामा लिएर भए पनि क्वारेन्टाइन स्थल व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।
‘स्थानीय तहमा व्यवस्था गरिएका क्वारेन्टाइन स्थलमा डाक्टर छैनन्, नर्स छैन्, एम्बुलेन्स छैनन्। न त क्षमता नै छ। यो गलत हो। प्रत्येक क्वारेन्टाइन मापदण्ड अनुसार हुनैपर्छ,’ उनले भने।
सरकारले निश्चित मापदण्ड निर्धारण त गरेको छ। तर त्यो मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।