काठमाडौं- सगरमाथा आरोहणका लागि लामो समयदेखि तयारी गरिरहेका ५ महिला पत्रकारको टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।
न्युज ट्वान्टीफोर टेलिभिजनकी प्रियालक्ष्मी शाक्य, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, मेगा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत र स्वतन्त्र पत्रकारिता गर्दै आएकी देउराली चाम्लिङसहितको ५ पत्रकारको टोली सगरमाथा आरोहणमा जाने भएको हो।
'पत्रकारहरु, त्यसमाथि महिला पत्रकारले लेखनका अलावा हिमाल आरोहण गर्न समेत साहस राख्न सक्छन् भन्ने जनाउन सगरमाथा आरोहणका लागि जान लागेका हौं,' पत्रकार कार्कीले बताइन्। उनले आरोहणका क्रममा प्रत्यक्ष रिपोर्टिङलाई पनि जारी राख्ने जानकारी दिइन्।
‘सगरमाथा आरोहणका क्रममा पनि हामी आफ्नो कामलाई निरन्तरता दिनेछौँ। नेपाल टेलिभिजनबाट आरोहणको प्रत्यक्ष प्रशारणसमेत हुनेछ’, आरोहणका बारेमा उनले थप प्रस्टाउँदै भनिन्,‘सगरमाथा, समग्र हिमालहरुको अवस्था, ग्लोबल वार्मिङले पारेको प्रभाव तथा प्रकृतिको विषयमा हामीले सो क्षेत्रबाट रिपोर्टिङ गर्नेछौँ।’
यसैबीच पत्रकारको टोलीलाई नर्भिक इन्टरनेसनल हस्पिटलले २५ लाख रुपैयाँ सहयोग गरेको छ। आफ्नौ २५औँ वार्षिक उत्सवको अवसरमा आज एक कार्यक्रम गर्दै नर्भिकले सो रकम हस्तान्तरण गरेको हो।
पत्रकारहरुले गरेको साहसमा थप केही बल मिलोस् भन्न आर्थिक सहयोग गरेको अस्पतालले जनाएको छ। २५औँ वार्षिकोत्सव तथा नयाँ वर्षको अवसरमा अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष वसन्त चौधरी, कांग्रेस नेता प्रकाशमान सिंह तथा कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका थिए।
सो क्रममा टोलीलाई अस्पतालको झण्डासमेत प्रदान गरिएको थियो। पत्रकारको टोलीले सगरमाथाको चुचुरोमा अस्पतालको झण्डा फहराउने छ।

पत्रकारहरुको आरोहणलाई लाग्ने खर्चको ठूलो हिस्सा सरकारले बेहोर्नेछ। कार्कीले भनिन्,‘अहिले यति नै भन्ने खुलाइएको छैन। तर आरोहणको प्रमुख सहयोगी सरकार नै हो।’ कार्कीका अनुसार आरोहणका लागि प्रतिव्यक्ति ३५ लाखका दरले कुल १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।