राजविराज– हटिया व्यवस्थापनको करोडौंको योजना असफल बनाउन अवरोध गरेको भन्दै राजविराज नगरपालिकाले व्यापारीहरुको सामान जफल गर्न थालेको छ।
काममा अवरोध गरेको भन्दै शुक्रबार आधा दर्जन माछा व्यापारीको करिब ५० केजी माछा जफत गरी नष्ट गरिएको नगरपालिकाका कर्मचारीहरुले बताए। गुदरी हटिया व्यवस्थापनका लागि सुरु भएको काममा उनीहरुले अवरोध गरेको नगरपालिकाको आरोप छ।
वडा नं. ७ स्थित हटियामा प्रहरी सहित पुगेका कर्मचारीहरुले माछा जफत गरि कार्यालय हाताभित्रै नष्ट गरेका छन्। वडा नं. ७ मा सञ्चालन हुँदै आएको हटियामा नयाँ भवन निर्माण गरी पुनः सञ्चालनमा ल्याउने सहमति गरी १ महिनाअघि माछा हटियालाई वडा नं. ४ मा सारिएको थियो। तर, पार्वती साह, रोशन साह लगायतका व्यापारीहरुले जबरर्जस्ती पुरानै स्थानमा व्यापार सुरु गरेपछि नियन्त्रणमा लिइएको प्रशासकीय अधिकृत प्रफुल्ल श्रेष्ठले बताए।
विकास निर्माणका काममा अवरोध गर्ने उदेश्यले अवरोध गर्न थालेको पदाधिकारीहरुले बताएका छन्। भारतको ‘गुलाबी सहर’ का नामले परिचित जयपुरको नक्साका आधारमा ५८ वर्षअघि टाउन प्लानिङ गरी बसाइएको राजविराज यतिबेला अतिक्रमण, छाडा चौपाया, ट्राफिक जाम, कोलाहल र फोहोरले अस्तव्यस्त छ। वडा नम्बर ७ स्थित सोही हटियालाई पुनर्निमाण गरी व्यवस्थित गर्न नगरपालिकाले तीन महिनाअघि नै ठेक्का लगाएको छ।
समृद्ध सहर बनाउने सोचसहित तयार पारिएको पुनर्निर्माण योजनामा सुरुदेखि नै अवरोध हुँदै आएको थियो। नगरपालिकाले तयार गरेको योजना त्रुटिपर्ण र पुराना व्यापारीहरुलाई विस्थापित गर्नेगरी आएको भन्दै सुरु गरेको अवरोध निरन्तरको छलफलपछि सहमतिमा पुगेको थियो। तर, अर्को पक्षले पुनः अवरोध सुरु गरेको पदाधिकारीहरुले बताए।
राजविराज हटिया व्यवस्थापन र केही सहरी सडक निर्माणका लागि सहरी विकास मन्त्रालयले ३५ करोड १५ लाख रुपैयाँ छुट्याएको छ। भारतीय सीमाक्षेत्रसँग जोडिएका सदरमुकामस्थित मुलुकका २० नगरपालिकाको विकासका लागि तयार भएको सघन सहरी कार्यक्रम अन्तर्गत राजविराजका लागि कुल २ अर्ब रुपैयाँ बजेट छुटयाइएको सहरी विकास तथा भवन निर्माण विभाग राजविराजका प्रमुख रमेश थिङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।