काठमाडौं- नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूका लागि ‘वर्क फ्रम होम’ कार्यविधि जारी गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण जोखिम न्यूनीकरण एवम् स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारबाट घोषणा भएको लकडाउनको अवस्थामा राष्ट्र बैंकले ‘राष्ट्र बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ तयार पारेको हो। उक्त कार्यविधिमा ‘वर्क फ्रम होम’को व्यवस्थालाई व्यवस्थित गरिएको बताइएको छ।
कोरोना संक्रमणको सजगता अपनाएर जोखिम न्यूनीकरण गर्न कामको प्रकृतिअनुसार कर्मचारीलाई घरबाट कार्यालयको काम गर्न सम्बन्धित विभागीय कार्यालय प्रमुखबाट ‘वर्क फ्रम होम’ को रूपमा स्वीकृति प्रदान गर्न सकिने व्यवस्था कार्यविधिमा छ।
घरबाट काम गर्ने स्वीकृतिप्राप्त कर्मचारीहरूले सुपरीवेक्षक एवम् विभाग कार्यालय महाशाखा इकाइ प्रमुखसँग सम्पर्कमा रहनुपर्ने छ। सम्बन्धित सुपरीवेक्षक एवम् विभाग कार्यालय महाशाखा इकाइ प्रमुखबाट प्राप्त निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ। कर्मचारीले आफ्ना टेलिफोन/मोबाइललाई तयारी अवस्थामा राख्नुपर्ने तथा इमेललाई अद्यावधिक राखी सम्बन्धित विभाग/कार्यालय/महाशाखा इकाइसँग निरन्तर सम्पर्कमा रहनुपर्ने व्यवस्था कार्यविधिमा छ।
विभाग कार्यालय महाशाखा इकाइले सूचित गरेको समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने र इलाका छोडी जानुपर्ने अवस्थामा अनिवार्य रूपमा सम्बन्धित विभाग कार्यालय महाशाखा इकाइबाट पूर्व स्वीकृति लिनुपर्ने पनि कार्यविधिमा उल्लेख छ।
एसएमएस, ग्रुप मेल, भाइवर, ह्वाट्स एपजस्ता प्रविधिमार्फत् कार्यालय सञ्चालनको लागि आवश्यक सूचना तथा जानकारी प्रदान गर्न सकिने कार्यविधिमा व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।