काठमाडौं- प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका १२ घर भई विराटनगर महानगरपालिका-१० मधुमारामा देवी पाथीभरा फार्मेसीका संञ्चालक ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या भएको थियो।
हत्यामा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा मृतक दुलालकी श्रीमती मिना श्रेष्ठ (दुलाल), विराटनगर महानगरपालिका ४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने वर्ष २१ को ब्रहमदेव साह र इटहरी उपमहानगरपालिका १२ बस्ने २० वर्षीय सोनु साह छन्।
घटनामा प्रयोग भएका मोबाइल ४ थान, सिमकार्ड ८ थान, पाउडरको बट्टा १ थान, कपडाको ब्याण्डेज १ थान, नाइलनको डोरी २ थान, सर्जिकल पन्जा ८ जोर, रगत लागेको बेडकभर १ थान, सिरानीको खोल १ थान, ब्ल्याङकेटको टुक्रा १ थान र चुडिएको सिक्री १ थान प्रहरीले बरामद गरेको छ।
दुलाल आफ्नै घरमा जेठ ४ गते अचेत अवस्थामा फेला परेका थिए। बेहोस अवस्थाका उनलाई विराटनगरको गोल्डेन अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको भन्ने सूचना प्रहरीकहाँ पुगेको थियो। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।
दुलाल दम्पत्तीबीच मनमुटाव झैझगडा हुँदै आएको थियो। त्यसपछि मीना श्रेष्ठ र ब्रम्हदेव साहको योजनामा शनिबार राति दुलाललाई सुतेको अवस्थामा डोरीले घाँटीमा बाँधी मारेको र मृतककी श्रीमती मिनाले छिमेकीलाई आफ्नो श्रीमान अचेत अवस्थामा रहेको भनी सम्पर्क गरी बोलाएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि अपराध खुल्ने डरले उपचारको लागि उक्त अस्पताल लगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
अनुसन्धान गर्दा दुलालको श्रीमतीको योजनामा हत्या भएको खुल्न आएको थियो। उनले आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अनुसन्धानले पुष्टि गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरु गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।