काठमाडौं- वैदेशिक रोजगारीमा गएका ६ लाख श्रमिकहरु रोजगारी गुमाएर फर्किने अवस्था रहेको एक अध्ययनले देखाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको एक अध्ययनले वैदेशिक रोजगारीमा गएका ६ लाख श्रमिकहरु रोजगारी गुमाएर फर्किने आँकलन गरेको हो।
नेपालीको प्रमुख श्रम गन्तव्य पेट्रोलियम उत्पादनमा आधारित अर्थतन्त्र भएका खाडी मुलुकहरू र मलेसिया नै हुन्। यी देशहरु पेट्रोलियम पदार्थको मूल्यमा भएको ऐतिहासिक गिरावट र कोरोना कहरले गहिरो आर्थिक संकटतर्फ धकेलिँदै छन् । पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै ती मुलुकमा आर्थिक संकट बढ्ने हुँदा ठूलो संख्यामा नेपाली श्रमिकहरुले रोजगारी गुमाउने अवस्था सिर्जना भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बताउँछन्।
कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई वा विभिन्न कारणले उद्दार गर्नुपर्ने श्रमिकको संख्या ५ देखि ६ लाख रहने संघको अध्ययनले देखाएको छ। नेपालबाट ठूलो संख्यामा अदक्ष कामदारहरु गएका छन्। कोरोनाका कारण कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेष्टुरेण्ट बन्द हुँदा यिनै अदक्ष कामदार सबैभन्दा बढी प्रभावित हुनेछन्।
भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई गन्तव्य मुलुकहरुले नेपाल फर्काउने तयारी थालिसकेका छन्।
युरोपको रोजगारी पनि गुम्ने
पर्यटन क्षेत्रमा परेको नकारात्मक असरले मौरिसस्, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्टलगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ। मुख्य श्रम गन्तव्य मुलुकमा मात्रै रोजगारी गुमाउनेको संख्या लाखौंमा पुग्ने प्रारम्भिक आंकलन छ।
संघले कोरोनाका कारण कुन देशमा कति रोजगारी गुम्न सक्छ भनेर केही प्रमुख गन्तव्य मुलुकमा गुम्न सक्ने रोजगारीका सम्बन्धमा छुट्टाछुट्टै विवरण सार्वजनिक गरेको छ।
यूएई
यूएईको अर्थतन्त्र तेलमा मात्र आधारित नभएको र त्यहाँको अर्थतन्त्रमा सेवा क्षेत्रको ठूलो योगदान रहेकाले सन् २०२१ मा यूएईको आर्थिक वृद्धिदर ३ प्रतिशत हुने प्रक्षेपण गरिएको थियो। नेपाली कामदारले रोजगारी पाइरहेका होटल, रेष्टुरेन्ट, सुरक्षा गार्ड, मल तथा अन्य सेवा क्षेत्रको व्यापार राम्रो रहेकाले प्रक्षेपण गरिएअनुसारको वृद्धिदर कायम रहेमा यूएईबाट भित्रिने विप्रेषणले निरन्तरता पाउने अवस्था रहेकोमा कोरोना भाइरस माहामारीको कारणले यो सम्भावना अन्त्य भएको छ।
प्रकोपका कारण निजी क्षेत्र धराशायी हुने वातावरण देखिए पनि त्यहाँको सरकारले कस्तो रणनीति अपनाउँछ भन्ने विषयले पनि रोजगारीमा असर गर्ने देखिएको छ। कोरोना महामारीका कारणले होटल, रेष्टुरेन्ट, सुरक्षा गार्ड, मल तथा अन्य सेवा क्षेत्र नराम्ररी प्रभावित भएकाले यूएईमा कार्यरत करीब ३० प्रतिशत कामदारहरुले रोजगारी गुमाउने देखिएको छ।
साउदी अरेविया
तेलमा आधारित अर्थतन्त्र भएको साउदी अरेविया कोरोनाको महामारी र पेट्रोलियम पर्दाथमा आएको मूल्यको गिरावटले गहिरो आर्थिक संकटतर्फ धकेलिँदैछ। कोरोना (कोभिड–१९) भाइरसका कारणले विश्व अर्थतन्त्रमा आएको सुस्तता र तेलको मूल्यमा आएको गिरावटले साउदी नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नीति त्यहाँको सरकारले लिएको छ।
सरकारले अघि नै साउदी कम्पनीहरुले रोजगारीमा साउदी नागरिकलाई रोजगारी प्रोत्साहन गर्नुपर्ने र दश जनाभन्दा बढी कामदार रहेको प्रतिष्ठानमा निश्चित प्रतिशत साउदी नागरिक हुनुपर्ने व्यवस्था गरेको छ। यसबाट साउदीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आई विप्रेषण आप्रवाहमा समेत प्रतिकुल प्रभाव पर्ने सम्भावना देखा परेको छ। साउदी अरेवियामा कार्यरत करीब २० प्रतिशत आप्रवासी कामदारहरुले रोजगारी गुमाउने देखिएको छ।
कतार
कतारले पेट्रोलियम निर्यातमा निर्भरता कम गर्दै व्यापार, पर्यटन र निर्माण क्षेत्रतर्फ आफ्नो अर्थव्यवस्थालाई क्रमशः विविधीकरण गर्दै लगेको छ। सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीका लागि कतारको निर्माण क्षेत्रमा उच्च वृद्धि कायमै रहेपनि अन्य सेवा क्षेत्र सुस्ताउने देखिन्छ। विश्व बैंकका अनुसार सन् २०१९ मा कतारको अर्थतन्त्र २ प्रतिशतले वृद्धि हुने र मध्यम अवधिमा ३ प्रतिशतभन्दा बढीले वृद्धि हुने प्रक्षेपण गरिएको थियो।
त्यसले रोजगारीको आशा बढाएको थियो। तर परिस्थिती बदलिएको छ। पेट्रोलियम पर्दाथको मूल्य गिरावट र कोभिड- १९ को महामारीका कारणले पर्यटन व्यवसाय बन्दको अवस्थामा छ। जसका कारण कतारमा पनि करीब २० प्रतिशत आप्रवासी कामदारहरुले रोजगारी गुमाउने देखिएको छ।
कुवेत
कुवेतमा झन्डै ८० हजार नेपाली कार्यरत छन्। यसमध्ये १२ देखि १५ हजार गैरकानुनी कामदार रहेको अनुमान गरिएको छ। घरेलु महिला कामदार सबैभन्दा बढी गैरकानुनी रुपमा रहेका छन्। कोभिड- १९ को रोकथाम गर्न भनी झन्डै ३ महिनादेखि लकडाउन गरेको कुवेतले गैरकानुनी कामदार फिर्ता गर्ने नीति लिएकाले कुवेतमा पनि करीब २० प्रतिशतले रोजगारी गुमाउने देखिन्छ।
ओमन
ओमनको अर्थतन्त्र तेलमा निर्भर भएकोले कोरोनाको महामारी र तेलको मूल्यमा आएको गिरावटले ओमन पनि गहिरो आर्थिक संकटतर्फ धकेलिँदैछ। ओमन सरकारले अर्थतन्त्रलाई सहयोग पुर्याउन नगरपालिकाको कर, सरकारी शुल्क र औद्योगिक क्षेत्रका कम्पनीहरूका लागि भाडा भुक्तान आउदो ३ महिनाको लागि स्थगित गरेको छ। ओमनमा झन्डै १७ हजार ५ सय नेपाली कामदारहरु तेल, ग्यास, निर्माण र सेवा क्षेत्रमा कार्यरत छन्। ओमनमा घरेलु महिला कामदार सबैभन्दा धेरै गैरकानुनी रुपमा रहेका छन्। ओमनमा कार्यरत करीब १० प्रतिशतले रोजगारी गुमाउने देखिन्छ।
बहराइन
जिसिसी राष्ट्रहरुमध्ये आकर्षक गन्तव्य बहराइनको मुख्य आयस्रोत पर्यटन हो। बहराइनमा मुख्यतः सेवा क्षेत्रहरु, होटल र रेस्टुरेन्टमा नेपाली कामदारहरु कार्यरत छन्। खाडी राष्ट्रहरुमा सबैभन्दा धेरै कोरोना भाइरसबाट प्रभावित मुलुकमध्ये बहराइन पनि एक हो र सबैभन्दा धेरै बेतलबी बिदामा बस्ने कामदारहरु पनि बहराइनमा छन्। बहराइनमा करीब १२ प्रतिशतले रोजगार गुमाउने आँकलन गरिएको छ।
मलेसिया
मलेसियाको अर्थतन्त्र कृषि, पयर्टन र औद्योगिक उत्पादनमा निर्भर छ। मलेसियाका उद्योगहरु निर्यातमा निर्भर रहेका र विश्वमा आउने आर्थिक मन्दिको कारणले माग घट्न गई धेरै उद्योगहरु बन्द हुने अवस्था देखिएकोले मलेसियामा धेरै रोजगारी गुम्ने संभावना छ। मलेसियामा पयर्टन तथा सेवा क्षेत्रमा तत्काल रोजगारी सिर्जना नभए पनि स्वास्थ्य उपचारमा प्रयोग हुने यन्त्र उपकरण, मास्क, पञ्जा र अन्य चिकित्सा उपकरण उत्पादन गर्ने उद्योगहरु र खाद्यान्न उत्पादन जारी रहेकाले नेपालीहरुले रोजगारी गुमाउने संभावना खाडी मुलुकभन्दा न्यून रहने आँकलन गरिएको छ।
वैदेशिक रोजगारीको खोजीमा नेपाली श्रमिकहरु विश्वका १ सय ८० भन्दा बढी मुलुकमा पुगेका छन्। तीमध्ये खाडी, मलेसिया, दक्षिण कोरिया, जापानलगायत मुलुकहरु नेपाली श्रमिकहरुका लागि प्रमुख आकर्षक गन्तव्य मुलुक बन्दै आएका छन्। यी मुलुकहरुले वैदेशिक रोजगारीको दुई तिहाईभन्दा बढी हिस्सा ओगटेका छन्। तर पछिल्लो समय विश्वमा महामारीका रुपमा फैलिएको कोभिड- १९ (कोरोना भाइरस) का कारण विश्वभरी निम्तिएको आर्थिक संकटले रोजगारी पनि संकुचित बनेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विशेषगरी कतार, साउदी अरब, यूएई, कुवेतमा अर्थतन्त्रको वृद्धिदर नकारात्मक (३.९५) हुने प्रक्षेपण गरेको छ।
त्यस्तै मलेसियाको अर्थतन्त्र पयर्टन र औद्योगिक उत्पादनमा निर्भर रहेकाले अर्थतन्त्रको वृद्धिदर खाडी राष्ट्रभन्दा कम नकारात्मक (१.७) हुने प्रक्षेपण गरेको छ।
सुस्त पर्यटन गतिविधी र औद्योगिक उत्पादनमा कमीको कारणले मलेसियाको अर्थतन्त्र पनि धर्मराइरहेको छ। अर्थतन्त्रमा आएको मन्दीका कारण विश्वका अन्य मुलुकहरुमा पनि रोजगारीको अवसर खुम्चदै गइरहेका छन्। संसारभरिकै सामाजिक तथा आर्थिक गतिविधिका अतिरिक्त मानव आवागमन समेत ठप्प भएको अवस्था छ। परिणामस्वरुप कतिपय कम्पनीहरू बन्दको अवस्थामा पुगेका, कतिपयले रोजगार कटौती गरेका छन् भने कतिपयले श्रमिकलाई बेतलबी बिदा निती लागू गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।