काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपाल–जापान मैत्रीपूर्ण जलजन्य प्रकोप न्यूनीकरण संघ (एनएफएडी) का महासचिव टोसीओ मोरीबीच आज भेटवार्ता भएको छ।
भेटवार्तामा नेपालको पहिरो नियन्त्रण र विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो। ऊर्जामन्त्री पुनले नेपाल र जापानको बीचमा लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै नेपालको विकासमा जापानले निःस्वार्थ गरेको सहयोगको प्रशंसा गरे।
उनले आगामी दिनमा समेत जापानसँगको सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरे।
नेपालमा प्रत्येक वर्ष बाढी र पहिरोका कारण हुने धनजनको क्षतिलाई कम गर्ने उपायका बारेमा समेत छलफल भएको थियो।
महासचिव मोरीले पहिरो आउनुभन्दा पहिले जानकारी दिने प्रविधि भित्राउनुपर्नेमा जोड दिए। उनले पहिरो नियन्त्रणका लागि सहयोग गर्न आफूहरु तयार रहेको भन्दै त्यसका लागि पहिरो प्रकोप सेन्टर स्थापना गर्न मन्त्री पुनलाई सुझाव दिए।
जवाफमा मन्त्री पुनले पहिरो प्रकोप केन्द्र स्थापनाबारे आफू सकारात्मक रहेको भन्दै त्यसका लागि सम्बन्धित निकायसँग छलफल गरेर छिट्टै सरकारले निर्णय गर्ने बताएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।