काठमाडौँ- काठमाडौँको उत्तरी भेगस्थित टोखामा बिस्केट जात्राको पूर्वार्द्धमा शुक्रबार साँझ स्थानीय देवदेवीलाई खुसी पार्न पञ्चबलि गरिएको छ।
स्थानीय कुमारी र गणेशलाई जात्रामा सहभागी गराउनका लागि देवदेवीलाई बलि दिएर औपचारिक रुपमा अनुमति लिने परम्परा छ। प्रत्येक वर्ष बैसाख १ देखि ४ गतेसम्म गरिने जात्रामा यसो गर्दा जात्रा अवधिभर बिघ्नबाधा नआउने जनविश्वास छ।
प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न दानवीय शक्तिले सर्वसाधारणलाई दुःख दिन थालेपछि जनतालाई सुरक्षित बनाउन सो जात्राको प्रचलन शुरु गरिएको स्थानीयवासीको विश्वास छ। जात्रा व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठले स्थानीय ठनेलाछी टोलमा गणेश, चण्डेश्वरीलगायत देवीदेवतालाई सिन्दूर हालेर जात्रा निकालिनाका साथै विभिन्न देवदेवीको पूजा गरिने जानकारी दिए।
यहाँको बिस्केट जात्रामा जिब्रो छेड्ने परम्परा भने छैन। मेला भर्नका लागि काठमाडौँ तथा आसपास क्षेत्रबाट भक्तजन आउने गर्छन्। उनीहरुको व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्थानीय क्लब तथा सङ्घसंस्थाको सहभागितामा स्वयंसेवक परिचालन गरिनेछ।
जात्राका लागि स्थानीय गणेश मन्दिर नजिकैको चोकमा गत साता लिङ्गो ठड्याइएको थियो। स्थानीयवासी मनिराज डङ्गोलले यहाँको मानव संस्कृति तथा सभ्यताको विकास क्रममा यस क्षेत्रमा प्राचीन समयदेखि सुसंस्कृत सभ्यताका तथ्य फेला परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।