काठमाडौं- नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कार्यलाई पूर्णता दिई पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्न केन्द्रित गरिने बताएका छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको दुई वर्ष पुगेको उपलक्ष्यमा एक विज्ञप्ति प्रकाशित गर्दै ओली र प्रचण्डले आधारभूत रुपमा एकता सम्पन्न भए पनि कोरोना महामारीका कारण एकतालाई पूर्णता दिन नसकेको बताएका छन्।
नेपालको कम्युनिस्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिको रुपमा स्थापित गर्न मदन भण्डारीको योग्दान रहेको विज्ञप्तिमा उल्लेख छ।
‘जननेता मदन भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता हुनुहुन्थ्यो’, विज्ञतिमा उल्लेख छ, ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पतिरक्षात्मक र गम्भीर धक्काको अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा कम्युनिस्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रुपमा स्थापित गर्न उहाँले प्रतिवादन गर्नु भएको विचारले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’
नेपाल क्रान्तिको मौलिक सिद्धान्त र कार्यक्रमको रुपमा भण्डारीले ‘जनताको बहुलिय जनवाद’को विकास गरी कम्युनिस्ट आन्दोलनलाई विशिष्ट योगदान गरेको विषय उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।