काठमाडौं– काठमाडौंमा लकडाउन थप कडा बनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै लकडाउनमा थप कडाई गरिने जनाएको हो।
काठमाडौं कोरोना जोखिमयुक्त भएको देखिएपछि गृहको निर्देशन र जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनमा कडाई गरिने निर्णय गरेको हो।
प्रशासनले जारी गरेको सूचना अनुसार एम्बुलेन्स, शव वाहन, औषधीजन्य सामाग्री, फोहोरका गाडी, फलफूल, तरकारी तथा खाद्यान्न बोक्ने सवारी साधनलाई बिना पास आवतजावत गर्न दिने जनाएको छ।
त्यस्तै, काठमाडौंका भित्री गल्लीदेखि विभिन्न सडकहरुमा समेत मान्छेहरुको भीडभाड नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
त्यससँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएका पहँलो र सेता रंगका सबै पास रद्द गरेको जनाएको छ। निर्माण सामाग्री बोक्ने सवारी साधनलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न दिइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।