काठमाडौं- नारायणी उपक्षेत्रीय अस्पतालको क्षमताले धान्न नसकेपछि क्वारेन्टाइनका लागि छुट्याइएको स्थानलाई ‘अस्थायी आइसोलेसन’ बनाइएको छ।
५० बेडको क्षमता रहेको अस्पताललाई विस्तार गरी ७० बेडसम्म पुर्याइएको थियो। संक्रमितहरु थपिएपछि सिद्धार्थ माध्यमिक विद्यालयमा आइसोलेसन बनाइएको छ।
नारायणी अस्पतालमा ७० जनाको उपचार भइरहेको छ भने बाँकीलाई विद्यालयको अस्थायी आइसोलेसनमा राखिएको छ। विद्यालयमा २० जनालाई आइसोलेसनमा राखिएको छ। नारायणी अस्पतालबाट निको भई फर्केका चारमध्ये एकमा पुनः संक्रमण देखिएको थियो।
सर्लाही, पर्सा, बारा र रौतहटका बिरामीको उपचार वीरगञ्जमा भइरहेको छ। चार जिल्लामा संक्रमितको संख्या शुक्रबारसम्म ९३ पुगेको छ। संक्रमितमध्ये १ भारतका समेत रहेका छन् भने एक जना अस्पतालकै कर्मचारी पनि संक्रमित भएका छन्। पर्सामा मात्रै ८५ जना संक्रमित पुगेका छन्।
संक्रमित बढेपछि भौतिक सुविधाको अभाव भएपनि विद्यालयलाई आइसोलेसन बनाउनु परेको पर्साका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी गराए। बस्नेतले भने, ‘आर्थिक र प्रावधिक सहयोग वीरगञ्ज महानगरपालिकाले गर्नेगरी जनशक्ति नारायणी अस्पतालले उपलब्ध गराउने निर्णय भएको छ।’
भारतबाट नेपाल प्रवेश गरेकाबाट वीरगञ्जमा संक्रमण फैलिएको थियो। गत मंगलबार एकैदिनमा ५७ जनामा संक्रमण विरगन्जमा देखिएको थियो। संक्रमितहरुको सम्पर्कमा पुगेकामध्ये करीब ५ सय जनाको स्वाब परीक्षणको लागि संकलन गरिएको बस्नेतले जानकारी गराए। संघीय सरकारबाट एक हजार र प्रदेश सरकारले ५०० कीट परीक्षणका लागि पठाउने भनिएपनि नआएको अस्पतालले जानकारी गराएको छ।
नारायणी अस्पताललाई संक्रमित उपचार केन्द्र बनाउनका लागि प्रदेश सरकारले असहमति जनाएको थियो। केन्द्र सरकारले दबाब बढाएपछि कोरोनाको उपचार केन्द्र नारायणी अस्पताललाई बनाइएको थियो। सरकारी अस्पतालमा रहेका अन्य बिरामीलाई नीजि अस्पतालमा स्थानान्तरण गरिएको थियो।
कोरोना संक्रमणको उपचारका लागि ५ बेडबाट विस्तार गर्दै उपक्षेत्रीय अस्पताललाई २५ बेडको बनाइएको थियो। बिरामी बढेसँगै २५ बाट ५० हुँदै ७० बेड पुर्याइएको छ।
सरकारी निकायले समयमा नीजि अस्पतालसँग समन्वय गर्न नसक्दा भौतिक सुविधा भएका अस्पतालमा आइसोलेसन सञ्चालनमा आउन सकेको छैन।
मेडिकल कलेजका विवादित व्यक्ति बसुरिद्धिन अन्सारीले सञ्चालन गरेको नेशनल मेडिकल कलेजले आइसोलेसन सञ्चालन गर्न स्वीकृति नदिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जानकारी दिए। संक्रमण बढेकाले नेशनल मेडिकल कलेजले स्वीकृति नदिएपनि आइसोलेसन बनाउनैपर्ने बाध्यता आएको कार्कीले सुनाए।
महानगरपालिकाको समन्वयमा गर्ने
नारायणी अस्पतालको आइसोलेसन क्षमता ७० जनाको छ। सिद्धार्थ माविको क्वारेन्टाइनलाई नै आइसोलेसनमा रुपान्तरण गर्न लागिएको छ। उक्त आइसोलेसनको सम्पूर्ण रेखदेख नारायणी अस्पतालले गर्ने भएको छ। १७ जना संक्रमित राखिएको सिद्धार्थ माविमा २५० जनासम्म राख्न सकिने बस्नेतले जानकारी गराए। करीब ५ सय जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।
नीजि अस्पतालमा आइसोलेसन निर्माण गर्ने तयारी भएपनि मूर्त रुप भने पाइसकेको छैन। स्वास्थ्य मन्त्रालयले गण्डक अस्पतालमा समेत आइसोलेसन बनाउन निर्देशन जारी गरेपनि कार्यान्वयन हुन सकेको छैन। अन्य जिल्लाका बिरामी समेत वीरगञ्जमा भरिएपछि समस्या थपिएको छ। सहायक सिडिओ बस्नेतले भने, ‘पर्सा जिल्लाको जिम्मेवारी हामीले लिन सक्छौं। अरु जिल्लामा भएका बिरामीलाई आफैं व्यवस्थापन गर्नुपर्छ।’ उपचाररत सबैको अवस्था सामान्य रहेको नारायणी अस्पतालकी नर्स श्रृति शाहले जानकारी गराइन्।
संक्रमितको संख्यामा वृद्धि भएपछि बिहीबारदेखि पर्सामा निषेधाज्ञा जारी गरिएको छ। जेठ ५ सम्म लागू हुनेगरी निषेधाज्ञा जारी भएको प्रजिअ कार्कीले जानकारी गराए। अत्यावश्यक सेवा बाहेकका कार्यमा आवतजावत पूर्णतः रोकिएको छ।अहिले बढेको संख्याअनुसार बढ्दै गए विकराल अवस्था आउनसक्ने चिन्ता व्याप्त छ।
सीमावर्ती जिल्लामा लुकिछिपी प्रवेश गर्नेको संख्या पछिल्लो दिनमा घटेको प्रजिअ कार्कीले दाबी गरे। बिहीबार बसेको संकट व्यवस्थापन केन्द्र (सिएमसी) को बैठकले उपचारका क्रममा भागेको भेटिए गोली हानी पक्रने अधिकार सुरक्षाकर्मीलाई दिइएको थियो। पछि केन्द्रले सो निर्णय सच्याउँदै बल प्रयोग गरी नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।
नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत दुई कोरोना संक्रमित व्यक्ति शौचालय जाने बाहनामा ट्वाइलेटकै भेन्टिलेसन भाँचेर फरार भएका थिए। पछिल्लो निर्णयसँगै पर्सा जिल्लामा उपचारत कुनै कोरोना संक्रमित फरार भएमा उनीहरुलाई पक्राउ गर्न सुरक्षा निकायले बल प्रयोग गरेरै भएपनि नियन्त्रणमा लिनका लागि त्यहाँको प्रशासनले यस्तो निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।