काठमाडौं- नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’मा हुँदैछ। हालै मात्र यस फिल्मले अमेरिकाको लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड पाएको थियो।
बुधबारदेखि जर्मनीमा सुरु भएको विश्वको प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र यस महोत्सवको ६६ औं संस्करणमा भने यो फिल्म पब्लिक प्रदर्शन हुन लागेको हो। विश्वभरीका ६५ सयभन्दा बढी फिल्महरुबाट एक सय फिल्म छनौट हुँदा नेपालबाट केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ छानिएको थियो।
जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिसन’ विधाअन्तर्गत आउँदो शनिबार मे १६ मा प्रिमियर हुन लागेको हो। सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन यस पटक कोरोना प्रभावका कारण अनलाइन संस्करण आयोजना भएको हो।
‘जुनुको जुत्ता’ जुत्ता‚ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। आफ्ना वरिपरीका आमा, शिक्षकलगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ।
नेपालका फिल्म फेस्टिभलहरुमा पनि अवार्ड लिएको ‘जुनुको जुत्ता’ अन्य थुपै अन्तर्राष्ट्रिय महोत्सवहरुमा छनौट भइसकेको छ।
ह्यापी ह्युज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन्। विभु पौडेल निर्माता रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी र विप्लपराज पोखरेल सम्पादन रहेको छ।
फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारीलगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।