'उमङ बाजुरेली' नामक फेसबुक पेजमा बुधबार अपलोड गरिएको भिडियोको स्क्रिनसट।
“कालापानी र लिपुलेक हाम्रो भन्दै बुटवलका विद्यार्थीको विशाल जुलुस भारत बिरोधी प्रदर्शनमा!!” भन्ने दावी सहितको एउटा भिडियो क्लीपलाई अहिले सामाजिक सञ्जालमा व्यापक बनाइएको छ। उक्त भिडियो क्लीपमा ठूलो संख्यामा कलेज तथा विद्यालयको पोशाकमा विद्यार्थीहरु नेपालको झन्डा, प्ले कार्ड, ब्यानर लिई नारा जुलुस गरिरहेका देखिन्छन्। भिडियो खिच्ने व्यक्तिले बुटवलका विद्यार्थीहरुले ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो’ भन्दै नारा जुलुस लगाएको फुटेज भएको उक्त भिडियो बुटवल बसपार्कमा लिइएको बताएका छन्।
आफुलाई पत्रकार भनी चिनाउने ट्विटर प्रयोगकर्ता भिम (स्वतन्त्र) अबिसले उक्त भिडियो “कालापनी र लिपुलेक हाम्रो भन्दै बुटवलका विद्यार्थीहरुको विशाल जुलुस भारत बिरोधी प्रदर्शनमा!!” भन्ने दावीका साथ बैशाख ३१ गते दिउँसो १२:११ बजे पोष्ट गरेका थिए। उक्त ट्विट ६१ पटक रिट्विट भइसकेको छ भने त्यसमा ६६ वटा रिप्लाई आएका छन्। यसमा आएका रिप्लाइ हेर्दा केही प्रयोगकर्ताले त्यसको आधिकारिकता र खिचिएको समयबारे प्रश्न उठाएका छन् भने केहीले त्यसमाथि विश्वास गरेर प्रतिक्रिया जनाएका छन्। अन्य केही प्रयोगकर्ताले चाहिँ पुरानो भिडियो राखेर अफवाह फैलाएको उल्लेख गरेका छन्। पुरा नामथर भीम अधिकारी रहेका ती ट्वीटर प्रयेगकर्ताले आफ्नो बेवसाइटमा विज्ञान विषयमा स्नातक गरेको र वेब डिजाइन गर्ने बताएका छन्।

उक्त ट्विट रिपब्लिकाका प्रधान सम्पादक सुवास घिमिरे र सोही दैनिकमा कार्यरत पत्रकार कोषराज कोइरालाले पनि रिट्विट गरेको स्क्रिनसट बाबा अनिल चे नामका ट्विटर प्रयोगकर्ताले पोष्ट गरेका छन्। घिमिरे र काेइराला दुवैले आफ्ना ट्विट मेटाइसकेका छन्। ती ट्वीटमा उक्त भिडियोमा देखाइएको जुलुस अहिलेकै भएको र कोभिड – १९ को विषम परिस्थिति र लकडाउनको बेला पनि विभिन्न भागमा जुलुस भइरहेको दावी गरिएको थियो।

उक्त भिडियो क्लीप त्यससँगै गरिएको दावी फेसबुकमा पनि धेरै प्रयोगकर्ताले शेयर गरेका छन्। विभिन्न पेजमा र व्यक्तिगत अकाउन्टमा पनि उक्त भिडियो क्लीप शेयर गरिएकाे छ। नेपाल म्युजिक ग्यालरी नामक पेजमा पनि सो भिडियो उक्त दावीका साथ पोष्ट गरिएको छ जुन ७९०० पटक शेयर भइसकेको छ। त्यस्तै उमङ बाजुरेली पेजमा ८४६, नमस्ते नेपाल भाइरल पेजमा ४१० पटक शेयर भएको छ।

साउथ एसिया चेकले उक्त भिडियोको तथ्य जाँच गरेको छ। हामीले उक्त भिडियोलाई ‘इनभिड टुलकिट’ नामक अनलाइन साधन प्रयोग गरी त्यसका विभिन्न ‘कि फ्रेम’ लाई ‘रिभर्स इमेज सर्च’ गर्याै। उक्त भिडियो मंसिर ८, २०७६ मा नेपाल इ न्युज नामक फेसबुक पेजमा पोस्ट गरिएको हामीले फेला पारेका छौँ। यो भिडियो क्लीप त्यतिखेर पनि विभिन्न फेसबुक पेजमा शेयर गरिएको थियो।
यस सँगसँगै थप गुगल खोजीमा हामीले युट्युबमा अपलोड गरिएको भिडियो फेला पारेका छौँ। मंसिर ८, २०७६ गते ‘नेपाली मनदेखि’ नामक च्यानलले उक्त भिडियो अपलोड गरेको थियो।
सेतोपाटीले मंसिर ८ गते “भारतको नयाँ नक्साविरुद्ध बुटवलमा विद्यार्थीको प्रदर्शन” शीर्षकमा उक्त जुलुससम्बन्धी समाचार र तस्बिर प्रकाशित गरेको थियो।
यसरी हेर्दा अहिले भाइरल भएको भिडियो भारतले दावी गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा विरुद्ध गरिएको नारा जुलुस हो तर त्यो जुलुस अहिले लकडाउन जारी हुँदाको नभई करिब छ महिना अघिको हो। त्यतिखेर भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटी नयाँ नक्सा जारी गरेपछि त्यसको नेपालमा विरोध भएको थियो। एक साताअघि भारतले लिपुलेकमा चीनसितको नाका जोड्ने सडकको उदघाटन गरेको समाचारपछि पुन विरोधको सिलसिला शुरु भएको छ। उक्त घटनाको विरोध गर्दै काठमाडौंका केही स्थानमा प्रदर्शन पनि भएका थिए। यही अवस्थामा पुरानो भिडियोलाई अपूरो तथ्यका साथ अहिलेकै झल्किने गरी सामाजिक सञ्जालमा व्यापक बनाइएको छ।
(यो सामग्री साउथ एसिया चेकबाट साभार गरिएको हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।