बाजुरा- बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ। जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन्।
सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बिताइरहेका छन्। सपनाले भने तीन वर्षअघि श्रीमान् गुमाइसकेकी छन्।
आफ्ना श्रीमान् धन गन्धर्वले पैसाको अभावमा उपचार नपाएरै त्यही छाप्रोमा ज्यान गुमाएको सपना सुनाउँछिन्। 'अर्काको छाप्रोमा बस्दै आएकी छु, मसँग जग्गा जमिन मात्र हैन, नागरिकतासमेत छैन,' उनले गुनासो गरिन्। नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबापतको एकल भत्ता पाउनबाट समेत उनी वञ्चित छिन्।
नागरिकता बनाउन सनाखत बस्ने आफन्त नभएको र माइती सबैको मृत्यु भइसकेकाले आफूले अहिलेसम्म नागरिकता पाउन नसकेको उनले बताइन्।
नागरिकता बनाउनका लागि स्थानीय जान्नेबुझ्नेलाई पटकपटक आग्रह गरिन्। तर कसैले सनाखत नगरिदिएको र नागरिकता बनाउन के–के चाहिन्छ भन्ने जानकारी नभएका कारण नागरिकताबाट वञ्चित भएको सपनाको भनाइ छ।
सपना सिमलकोटमा बस्न थालेको १५ वर्ष जति भयो। पहिले अरुको गोरु गोठमा आश्रय लिएको उनको परिवारलाई दीपक सुनारले आफ्नो सानो छाप्रो दिएपछि पाँच वर्षदेखि यही घरमा बस्दै आएकी छन्।
श्रीमानको मृत्युपछि सपनाको काँधमा दुई छोरा पालनपोषण गर्ने एकल जिम्मेवारी थपिएको छ। 'श्रीमान् हुँदा गीत गाएर, माटोका भाँडा बनाएर परिवारको गुजारा चल्थ्यो,' उनी भन्छिन्, 'अहिले मागेर नै छोरा र आफ्नो गुजारा चलिरहेको छ।'
सपनाको जेठो छोरा सागर कक्षा ५ र कान्छो छोरा राजेश गाउँकै शारदा माविमा कक्षा २ मा पढिरहेका छन्।
बूढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले अल्पसंख्यकमा रहेका गन्धर्व समुदायका मानिसको जीवनस्तर सुधार र नागरिकता बनाउन पहल गर्ने बताएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।