काठमाडौं- नेपाली भूमि मिचेर भारतले सडक बनाएको विरोधमा नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएपछि भारतीय जनता पार्टीका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रिसाएको भन्दै दबाब दिएको खुलेको छ। भाजपा नेता भगतसिंह कोश्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर नेपालमा आफ्नो पुत्ला जलेकोमा मोदी रिसाएको भन्दै दबाब दिएका हुन्।
सोमबार प्रधानमन्त्री ओलीसँग भेटेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल लाइभसँगको समय संवादमा प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भने, 'कोश्यारीले मलाई फोन गरेर मोदी दुखित भएका छन्, मोदी रिसाएका छन्' भनेर प्रेसर गरिरहेका छन्।'
प्रधानमन्त्रीले यस्तो कुरा गरेपछि आफूले 'किन?' भनेर प्रश्न गरेको र प्रधानमन्त्रीले आफूसँग पुत्ला जलेकोबारे भारतले दबाब दिएको बताएको उनले खुलाएका थिए।
'मेरो पुत्ला जल्यो। सारा काठमाडौंमा जलिराछ' भनेर प्रधानमन्त्री मोदी दुखी हुनुभएको छ भनेर कोश्यारीले भनेका छन्,' ओलीलाई उद्धृत गर्दै गुरुङले भने।
यसपछि आफूले प्रधानमन्त्री ओलीसँग भारतले नै विवादित भूमिमा सडक बनाएपछि नेपालीले विरोध गरेको उल्लेख मुख्यमन्त्री गुरुङले बताए। 'तिमीहरू (भारतीय पक्ष) विवादित एरियामा खुरुखुरु बाटो बनाउँछौ। अनि हामी छोड्छौं त? हाम्रा नेपालीले विरोध गर्दैनन् त? सबै नेपालीले विरोध गरिराछन्। विवादित क्षेत्रमा त दुईपक्षीय छलफल गरेर काम गर्नु पर्यो नि,' आफूले प्रधानमन्त्री ओलीसँग भनेको स्मरण गर्दै गुरुङले नेपाल लाइभसँग भने, 'बिना छलफल त हामीले पनि एकतर्फी रूपमा काम गर्नु भएन। उहाँहरूले पनि गर्नु भएन नि! यस्तो कुरामा प्रधानमन्त्री (मोदीले)ले चित्त दुखाउनु भएन।'
उनले प्रधानमन्त्री ओली नेपाली भूभागमा भारतीय पक्षले सडक बनाएको विषयमा गम्भीर रहेको र तत्काल समाधान नभए पनि प्रक्रियामा भने गएको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।