काठमाडाैं- अर्थमन्त्री युवराज खतिवडाले सन्तुलित विकासको अवधारणका आधारमा बजेट निर्माण हुने बताएका छन्। राष्ट्रिय सभाको प्रि बजेट छलफलमा भाग लिँदै सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले सबै क्षेत्रको सन्तुलित विकास र कोरोनाले पारेको असरलाई केन्द्रमा राखेर बजेट निर्माण हुने प्रतिबद्धता व्यक्त गरे।
‘सरकारले कृषिलाई आधुनिकरण गर्दै विकास गर्ने तर्फ बजेटअघि बढाउने छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘कृषिसँगै अन्य क्षेत्रमा पनि सन्तुलित विकास गरिएन भने त्यसले झन खराव अवस्था सिर्जना गर्ने छ। कृषि उत्पादन खरिद गर्ने वर्गको पनि स्तरउन्नति हुन पर्दछ।’ कृषि आफैंमा एक्लैअघि बढ्ने क्षेत्र नभएकाले सबैलाई समेट्ने उनले बताए।
सबै क्षेत्रको विकास सन्तुलित रुपमा अघि बढाउन जरुरी छ त्यसका लागि बजार पनि बढाउनुपर्ने उनको टिप्पणी छ। खरिद गर्ने वर्गलाई पनि आयस्तर वृद्धि गर्ने काम गर्न जरुरी हुने उनले बताए। कृषिमात्र विकास गरे खरिद नहुने समस्या आउने र कृषकले आफ्नो उत्पादनको मूल्य नपाउने उनले बताए।
स्थानीय तहमा साधन स्रोत दिने कुरा सांसदहरुले उठाएको प्रति आफ्नो सहमति रहेको उनले बताए। ‘सरकार यसमा सजग हुने छ। संघियताकाे महत्व त्यसैले पुष्टि गर्ने भएकाले यसलाई नै प्राथमिकता दिइने छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट यसैमा पनि अघि बढेको छ।’
बजेटमाथि व्यापक छलफलको खाँचो भएको तर अहिलेको अवस्था सामान्य नभएको तर्फ सबैले बुझेको उनले बताए। ‘हामी संसद खोल्न सक्ने अवस्थामा पुग्नेमा पनि त्रासमा थियौ,’ उनले भने, ‘अहिले सरकारले विगतमा गरेको सजगता कारण यहाँ पुगेका हौ।’ उनले सबै विदेशमा रहेका नागरिक ल्याउने सम्भवना नभएको भन्दै त्यहाँ नै सुरक्षित राख्ने काममा सरकारले पहल गरिरहेको बताए।
‘हामीले पनि विदेशी नागरिकलाई राखेका छौं। हाम्रा नागरिक जहाँ जहाँ छन् त्यहाँ पनि कूटनीतिक रुपमा राख्न पहल गरेका छौं’ उनले भने। सीमाबाट आएका मानिसका कारण संक्रमणको जोखिम बढेको र यो चिन्ता यहाँ पनि आएको भन्दै उनले यसमा सजग रहनै पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।