नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिका–१२ र १३ का बाल संरक्षण समितिलाई एक/एक लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको छ।
विद्यालय जानबाट वञ्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन प्रोत्साहनस्वरुप सो सहयोग उपलब्ध गराइएको हो। सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले आज एक कार्यक्रम गरि सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
क्लबका अध्यक्ष परबेजअली सिद्दिकीले वडा बाल संरक्षण समिति वडा नं १२ का संयोजक रामु चिडिमार र वडा नं १३ का संयोजक गोविन्द शर्मालाई सो चेक हस्तान्तरण गरेका थिए।
अध्यक्ष सिद्धिकीले विपन्न परिवारका अभिभावकले अर्थाभावमा आफ्ना बालबालिकालाई विद्यालय नपठाएकाले सहयोग कोषले बालबालिकालाई शिक्षा दिने कार्यमा उत्प्रेरणा दिन खोजेको बताए।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा ७१ र वडा नंं १३ मा ३४ जना बालबालिका विद्यालय नगएको तथ्यांक छ। ती बालबालिकालाई यस वर्ष विद्यालय भर्ना गराउने लक्ष्य लिइएको छ।
यही वैशाखदेखि सुरु हुने विद्यालय भर्ना अभियानलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक घुम्ती कोषको सहयोग उपलब्ध गराइएको हो। वडा बाल संरक्षण समितिमार्फत घुम्ती कोष परिचालन गरिएको क्लबका कार्यक्रम संयोजक आशीष बर्माले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।